भारत र तेस्रो मुलुकबाट आएर कञ्चनपुरका विभिन्न सात क्वारेन्टाइनमा बसेका एक सय २१ जनाकै र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड रेस्पोन्स टिमले बिहीबार कञ्चनपुरका सात स्थानीय तहका क्वारेन्टाइनमा बसेका एक सय २१ जनाको र्यापिड टेस्ट गरेको थियो ।
बेलौरी नगरको क्वारेन्टाइनमा १२, बेलडाँडी गाउँपालिकाको क्वारेन्टाइनमा १२, पुनर्वास नगरपालिकाको क्वारेन्टाइनमा २४, शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा २६, कृष्णपुर नगरपालिकाको क्वारेन्टाइनमा १६ र वेदकोट नगरपालिकाको क्वारेन्टाइनमा १३ जना बसेका छन् । त्यस्तै, महाकाली नगरका दुई क्वारेन्टाइनमा १५ जना बसेका छन् ।
वेदकोट नगरका प्रमुख अशोककुमार चन्दले संक्रमितसँगै आएका १० जना र तीनजना कर्मचारीको नमुना लिइएकोमा सबैको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित बैजनाथ क्वारेन्टाइनमा बसेकाको भने नमुना केन्द्रबाट आएको टोलीले लगेको र रिपोर्ट आउन बाँकी रहेको छ ।