कैलाली, १७ साउन / कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित राजधानी सेकुवा एण्ड मस्म सेन्टर मा कार्यरत १७ वर्षीया याचना सेजवालको शनिबार बिहान रेस्टुरेन्टमै चक्कु प्रहार गरेर हत्या गरिएको छ। प्रहरीका अनुसार, हत्या आरोपमा किचेनमा कार्यरत ३३ वर्षीय नृप साउदलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धमा आएको मतभेदका कारण हत्या भएको खुलेको छ।
१६ दिनअघि मात्रै सो रेस्टुरेन्टमा काम गर्न थालेकी याचना साउदसँग नजिकिएकी थिइन्। केही समयअघि डिभोर्स गरेका साउद तनावमा थिए भने याचनासँगको सम्बन्धले उनलाई नयाँ जीवनको आशा दिलाएको प्रहरी स्रोत बताउँछ।
शुरुमा मैत्रीपूर्ण सम्बन्ध रहेको उनीहरूको सम्पर्क पछिल्लो समय प्रेम सम्बन्धमा परिणत भएको थियो। तर पछिल्ला दिनमा याचनाले अन्य केटासँग भिडियो कल र च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेका थिए।
शुक्रबार राति दुवै जना सँगै भाग्ने सहमतिमा पुगेका थिए तर अन्तिम समयमा याचना पछि हटेपछि साउद आक्रोशित बनेका थिए। शनिबार बिहान करिब १० बजे, कामकै समयमा रेस्टुरेन्टमै उनले याचनामाथि धारिलो हतियार प्रयोग गरेका थिए।
गम्भीर घाइते भएकी याचनालाई निसर्ग अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने मृतक याचनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।