धनगढी, १५ साउन / धनगढीमा डेउडा प्रतिष्ठानको आयोजनामा खीर खाने दिन विशेष रुपमा मनाएको छ। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डेउडा प्रतिष्ठानको केन्द्रीय कार्यालय, धनगढीमा खीर खाने दिनको अवसरमा विविध साँस्कृतिक कार्यक्रमसहित खीर खाने दिन मनाएका छन्।
“भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्न हाम्रो दायित्व हो” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का सहभागी थिए।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, योजना आयोगका सदस्य नृप सुनार, साहित्य क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी तथा प्रतिष्ठानका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्ष डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले गरेका थिए भने सञ्चालन महासचिव प्रेम विवस चन्दले गरेका थिए।
कार्यक्रममा खीर खाएर सांस्कृतिक पहिचान झल्किने डेउडा खेल सहित “खीर दिवस”लाई विशेष उत्सवका रूपमा मनाइएको थियो।
डेउडा प्रतिष्ठानका महासचिव प्रेम विवस चन्दका अनुसार कार्यक्रमले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा सहयोग पुर्याएको बताए ।