धनगढी, १३ जेठ / धनगढी-३ भन्सार रोडमा रहेको दून एकेडेमीको आयोजनामा दोस्रो कविता महोत्सव हुने भएको छ। पहिलो कविता महोत्सव सम्पन्न गरेको एकेडेमीले यस वर्ष विभिन्न विद्यालयका विद्यार्थी , शिक्षक र शिक्षाविदको उपस्थितिमा पठन संस्कृतिको विकास र साहित्यप्रति नव प्रतिभाहरूलाई जागृत गर्नको लागि दोस्रो विद्यालयस्तरीय कविता महोत्सव गरिन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिए।
पत्रकार सम्मेलनमा आयोजकले कविता महोत्सवमार्फत विद्यार्थीहरूमा सिर्जनात्मकता अभिवृद्धि, भाषिक सीपको विकास र साहित्यप्रतिको रुचि बढाउने लक्ष्य रहेको बताए। साथै पछिल्लो समयमा साहित्यप्रतिको उत्साह कम हुँदैगर्दा विद्यार्थीहरूलाई साहित्य क्षेत्रमा प्रोत्साहित गर्नको लागि महोत्सवको आयोजना गरिएको आयोजक दून एकेडेमीका प्रिन्सिपल आर.पी उपाध्यायले बताए।
कविता महोत्सवमा कविता लेखन कार्यशाला, विद्यार्थीहरूद्वारा कविता वाचन, साहित्यिक सत्रहरू र सांस्कृतिक प्रस्तुतिहरू रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
कविता महोत्सव पहिलो दिन दून एकेडेमीमै सुरुवात हुने सँगै प्रशिक्षण गरिने छ भने; महोत्सवको दोस्रो दिन ओम पार्टी प्यालेसमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित सहभागीहरुले कविता लेखेर सुनाउने गरी तय गरिएको दून एकेडेमीका प्रिन्सिपल उपाध्यायले जानकारी दिए।
प्रिन्सिपल उपाध्यायले भने साहित्य क्षेत्रमा लागेको विद्यार्थी कुनै पनि कुलतमा नलाग्ने र मानसिक रूपमा पनि तन्दुरुस्त हुने भएकाले आफूहरूले कविता प्रतियोगिता नभइकन कविता महोत्सवको आयोजना गर्दै आएको बताए। प्रतियोगिताबाट सिमित विद्यार्थी लाभान्वित हुने तर महोत्सवमा सबै विद्यार्थीले समान रूपले सिक्ने र आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने भएकाले समेत महोत्सवलाई प्राथमिकता दिएको उनको भनाइ रहेको थियो।
साथै प्रिन्सिपल उपाध्यायले दून एकेडेमीले गर्न लागेको कविता महोत्सवलाई सफलपूर्वक सम्पन्न गर्नको लागि विद्यार्थी, शिक्षक, शिक्षाविद्, साहित्य प्रेमी, पत्रकार ,नागरिक समाज सबैको साथ सहयोगको अपेक्षा रहेको समेत बताए ।