धनगढी, २२ वैशाख/सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा तिन तिहाका साथ भारी मतान्तरले जितेका कैलालीका एक अध्यक्षले मतदातालाई दिवा भोजको कार्यक्रम आयोजना गरी धन्यवाद दिएका छन् । अध्यक्ष करन चौधरीले धनगढी उपमहानगरपालिका–६, जाली गाउँस्थित लम्ही तालमा शुभकामना तथा दिवा भोज कार्यक्रमको आयोजना गर्दै धन्यवाद दिएका हुन ।
नवनिर्वाचित अध्यक्ष चौधरीले सबै उपभोक्ताहरुलाई सो कार्यक्रममा उपस्थितीका लागि आग्रह गरेका थिए । ५८५ उपभोक्ता रहेको सामुदायिक वनका सबै उपभोक्तालाई पुग्ने गरी बंगुरको मासु र बंगुर नखानेलाई माछाको व्यवस्था गरेका थिए । अध्यक्ष चौधरीले दिवा भोजका लागि १३० किलो बंगुरको मासु र १० किलो माछाको व्यवस्था गरेका थिए ।
‘चुनाव अघि मैले भोट माग्न जाँदै गर्दा हारेपनि जितेपनि पार्टी दिन्छु भनेर बाँचा गरेको थिए’ चौधरीले भने, ‘उहाँहरुले मलाई मतदान गरेर भारी मतान्तरले जिताउनुभयो । अब नखुवाए म झुठो ठहरिन्छु । म जवानको पक्का मान्छे हो । मतदातालाई धन्यवाद दिन मैले सबैलाई मासुभातको व्यवस्था गरेको हुँ ।’
शनिबार सम्पन्न जाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा करन चौधरी भारी मतान्तरका साथ विजयी भएका थिए । धनगढी उपमहानगरपालिका–६, जाली गाउँमा रहेको जाली सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वका लागि भएको निर्वाचनमा करन चौधरीले २८७ मत ल्याउँदा अध्यक्ष पदका अर्का उम्मेदवार सन्तु चौधरीले ८१ मत मात्र पाएका थिए । कुल ४०९ मत खसेको निर्वाचनमा ४१ मत वदर भएको थियो ।
वनको नेतृत्वका लागि दुई जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । करण चौधरी र सन्तु चौधरी अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका थिए । अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा चिल्लु चौधरी, सचिवमा निशाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्ष र सह–सचिव पदमा २/२ जनाले उम्मेदवारी दिएपनि दुबै जनाले फिर्ता लिएपछि सो पद खाली छ । सदस्यमा गेदुलाला चौधरी, तोया प्रसाद चौधरी, हिरालाल चौधरी निर्विरोध निर्वाचित भएका छन् । ३८८ हेक्टर क्षेत्रफल रहेको जाली सामुदायिक वन २०५२ सालमा दर्ता भएको हो ।