धनगढी, २१ वैशाख /पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश पर्यटनको लागि प्रमुख गन्तब्य स्थल रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको होमस्टे कार्यशाला गोष्ठीको भिडियो कन्फरेन्स मार्फत नेपाल सरकारका संस्कृति , पर्यटन तथा नागरीक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भादा थारू समुदायिक होमस्टेमा उद्घाटन गर्दै यस्तो बताएका हुन्।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा ‘दिगो होमस्टे पर्यटन : आन्तरिक सुशासन’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुदूरपश्चिम प्रदेशगत होमस्टे कार्यशाला गोष्ठी गरिएको छ।
गोष्ठीको उद्घाटन गर्दै मन्त्री पाण्डेले गाँउ वस्ती, रहन सहन ,चाल चलन , भाषा, संस्कृतिको संरक्षण गर्न सके मात्रै पर्यटकलाई आकर्षण गर्न सकिने बताए । सुदुरपश्चिम प्रदेश प्राकृतिक, धार्मिक, एतिहासिक सबै क्षेत्रबाट पर्यटकको लागि उपयुक्त गन्तव्य रहेकोले पर्यटनको मुख्य गन्तब्य रहेको मन्त्री पाण्डेले जोड दिए ।
साथै होमस्टेले पछिल्लो समयमा ग्रामिण बस्तिहरुको आर्थिक उपार्जनमा सहयोग गरि रहेको जानकारी गराउँदै हामीले होमस्टेको संख्यात्मक वृद्धिले हौसिनु हुँदैन, त्यसबाट कति नयाँपन ल्याउन सक्यौं, कति आर्थिक उपार्जन गर्न सक्यौँ यसमा बिशेष ध्यान दिनुपर्ने बताए।
आफुले बजेट निर्माणको चापले भौतिक रुपमा उपस्थित हुन नसकेको समेत भिडियो कन्फरेन्स मार्फत मन्तव्य राख्दै मन्त्री पाण्डेले जानकारी दिएका छन्।