धनगढी, २१ बैशाख/ जाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा तिन तिहाईले करन चौधरी भारी मतान्तरका साथ विजयी भएका छन् । धनगढी उपमहानगरपालिका–६, जाली गाउँमा रहेको जाली सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वका लागि आज भएको निर्वाचनमा करन चौधरीले २८७ मत ल्याउँदा अध्यक्ष पदका अर्का उम्मेदवार सन्तु चौधरीले ८१ मत मात्र पाए । कुल ४०९ मत खसेको निर्वाचनमा ४१ मत वदर भएको निर्वाचन समितिले जनाएको छ ।
वनको नेतृत्वका लागि दुई जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । करण चौधरी र सन्तु चौधरी अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका थिए । अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा चिल्लु चौधरी, सचिवमा निशाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्ष र सह–सचिव पदमा २र२ जनाले उम्मेदवारी दिएपनि दुबै जनाले फिर्ता लिएपछि सो पद खाली छ । सदस्यमा गेदुलाला चौधरी, तोया प्रसाद चौधरी, हिरालाल चौधरी निर्विरोध निर्वाचित भएका छन् । ५८५ उपभोत्ता रहेको सामुदायिक वनमा ४४६ ले मात्र नविकरण गरेका थिए । निर्वाचनमा नविकरण गरेकाले मात्र मतदान गरेका थिए । ३८८ हेक्टर क्षेत्रफल रहेको जाली सामुदायिक वन २०५२ सालमा दर्ता भएको हो ।