धनगढी, २० वैशाख / सामाजिक विकास मन्त्री मेघराज खड्काले समाजले आपसी सद्भाव र भातृत्व कायम राख्न सफल भएको बताएका छन्। समाज निर्माण लोकतान्त्रिक उपलब्धिको उपज भएको उल्लेख गर्दै उनले संस्कृति संरक्षणसँगै विकासमा समाजको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे।
“धेरै ठूलो परिवर्तन नभए पनि हिजोको तुलनामा आज धेरै परिवर्तन भएको छ,” मन्त्री खड्काले भने। उनले विश्व परिवेश हेर्दा केही निराशाजनक पक्ष देखिए पनि समग्रमा नेपालमा पनि विकास र परिवर्तनको लहर चलिरहेको उल्लेख गरे।
बाजुरेली सेवा समाजले धनगढीमा गरेको भित्तेपात्रो बिमोचन कार्यक्रममा मन्त्री खड्काले बाजुरा जिल्लाभित्र धेरै सम्भावना रहेको बताउँदै संस्कृति र संस्कारको संरक्षणसँगै मूल थलोको विकासमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।