कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताएका छन्। आज पश्चिमी सीमानाका गड्डाचौकीको अवलोकन गर्दै उनले ‘हेल्थ डेस्क’मा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित गर्न कसरी व्यवस्थित गर्ने भनेर तयारी भइरहेको बताए।
“संसारभरि फैलिएको कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्रीको अभाव छ, सङ्घीय सरकारसँग समन्वय गरी अपुग सामग्रीको व्यवस्था मिलाइने छ, आवश्यक औषधिका लागि अप्ठ्यारो छैन”, उनले भने।
कैलाली र कञ्चनपुर तराईका जिल्ला सीमाक्षेत्र भएका बढी जोखिम भएकाले बृहत् तयारी गरिएको उनको भनाइ छ। कोरोनाको सङ्क्रमण देखिए त्यसलाई व्यवस्थित गर्न तराई र पहाडी जिल्लामा क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापना गरिएको उनले बताए।
सोही क्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदार संस्थासँग मिलेर कोरोना रोकथामका लागि अपनाउनुपर्ने पूर्वतयारी भइरहेको बताए। नगरपालिकाले सामुदायिक भवनमा १०० जनालाई राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्था गरिएको उनले बताए। बजार क्षेत्रमा हुने कालोबजारी रोक्ने काम अगाडि बढाइएको उनको भनाइ छ। –रासस