यमुना साउद / धनगढी,९ चैत । सुदूरपश्चिममा कक्षा १ मा भर्ना भएका आधा विद्यार्थी माध्यमिक शिक्षा (एसईई) सम्म पुग्न सकेनन्। गरिबी, बालविवाह, रोजगारीको खोजी र अभिभावकको कम चासोका कारण पनि धेरैले पढाइ छोडेका छन् । वि.स २०७२ मा १ लाख १५ हजार ५३८ विद्यार्थी भर्ना भएका थिए। अहिले एसईईमा ५८ हजार ९४३ मात्र सहभागी छन्।
कैलालीबाट १९ हजार ४८८ जना परीक्षा दिइरहेका छन्। कञ्चनपुरबाट ११ हजार ३०१, बैतडीबाट ५ हजार ३६२, अछामबाट ५ हजार २९, बझाङबाट ४ हजार ६४४, डोटीबाट ४ हजार ६२, दार्चुलाबाट ३ हजार २३७, बाजुराबाट ३ हजार १८ र डडेलधुराबाट २ हजार ८०२ जना सहभागी भएका छन्।
२०७२ मा कैलालीबाट २१ हजार ९२१ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए। कञ्चनपुरमा १२ हजार २४४, बैतडीमा १५ हजार ८८७, डोटीमा ११ हजार ५९३, अछाममा १८ हजार ६६७, दार्चुलामा ६९४५, बझाङमा १५ हजार ७९१ र बाजुरामा ७८३३ जना भर्ना भएका थिए ।
माध्यमिक तहसम्म आइपुग्दा आधा विद्यार्थी बीचमै हराए । यसले सुदूरपश्चिमको शैक्षिक अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। शिक्षा निरन्तरता कायम राख्न अभिभावक सचेतना र सहुलियत कार्यक्रमको खाँचो छ । शिक्षामा लगानी बढाउन नसक्दा धेरै विद्यार्थीको सपना अधुरो भइरहेको छ ।