धनगढी ,४ फागुन । पुनर्वास नगरपालिका रोजगार सेवा केन्द्रद्वारा रोजगारीका लागि छनोट भएका श्रमिकहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ५ को मदन आश्रित आधारभूत विद्यालयमा सञ्चालन भइरहेको आयोजनाका लागि छनोट भएका श्रमिकहरूलाई प्रशिक्षण प्रदान गरिएको हो।
आयोजनामा पुनर्वास नगरपालिका वडा नम्बर ५, ६, र ७ बाट ५/५ जना श्रमिक गरी कुल १५ जना संलग्न हुनेछन्। छनोट भएका श्रमिकहरूले न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्ने छन्। अभिमुखीकरण कार्यक्रममा श्रमिकहरूलाई गरिने काम, कर्तव्य, सुरक्षा सामग्रीको प्रयोग, भुक्तानी प्रक्रिया, बीमा सम्बन्धी जानकारी लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा जानकारी दिनुहुंदै पुनर्वास नगरपालिका रोजगार सेवा केन्द्रकी संयोजक सुशीला देउवा बमले श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै कार्यस्थलमा अपनाउनु पर्ने सावधानी तथा कानुनी प्रक्रियाबारे स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
स्थानिय सरकारद्वारा सञ्चालित यो रोजगारी कार्यक्रमले श्रमिकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने तथा स्थिर आयआर्जनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
