कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा फिल्डमा नगई प्रहरी नेतृत्वबाट कमजोरी भएको प्रष्ट भएको छ। तत्कालीन प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीले क्षमता अभावका कारण यो घटनामा प्रहरी र देशले ठूलो मूल्य चुकाउनुपरेको पछिल्लो छानबिनले प्रष्ट पारेको छ। हुचवा र भिडको भरमा प्रहरी नेतृत्वले निर्णय गर्दै जाँदा यस्तो समस्या देखिएको हो।
प्रहरीले त्यसबेला पक्राउ परेका दिलिपसिंह बिष्टको डिएनए नमिलेको भन्दै छाडिएको थियो। तर, पछि अनुसन्धानमा डिएनए परीक्षण प्रक्रियामै त्रुटी भएको र अन्य प्रमाणका आधारमा दिलिप नै दोषी देखिएका थिए। जबकी अनुसन्धानमा लापरबाही गरेको भन्दै त्यसबेला आठ प्रहरीको जागिर जाने मात्र होइन मुद्दा दायर समेत भएको थियो। तत्कालीन एआईजी धिरु बस्नेतले हचुवाको भरमा छानबिन गरेर रिपोर्ट दिंदा यस्तो अवस्था आएको थियो। बस्नेतको ‘हावादारी’ रिपोर्टलाई तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले समेत सदर गरेका थिए। तर, अवकाशको मुखमा उनले आफ्नो गल्ती सुधार गर्ने प्रयास गरे।
खनालले डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समिति बनाएका थिए। सो समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन तथ्यहिन रहेको निष्कर्ष निकालेको छ। नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ। नयाँ महानिरीक्षक ठाकुर ज्ञवालीले पछिल्लो प्रतिवेदन कार्यान्वायनका लागि छलफल अघि बढाएका छन्।
एआइजी बस्नेत नेतृत्वको प्रतिवेदनले सो घटनामा प्रहरीले प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गर्ने प्रयास गरेको उल्लेख गरेको थियो। जुन प्रतिवेदन तथ्यमा आधारित नरहेको डिआइजी केसी नेतृत्वको समितिले ठहर गरेको हो। पुरानै प्रतिवेदनका आधारमा आठजना प्रहरीविरुद्ध फौजदारी मुद्दा दायर भएको थियो।
नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्री बताउँछन्। स्रोतका अनुसार महानिरीक्षक ज्ञवालीले यसबारेमा सम्बन्धित पक्षसँग छलफल थालिसकेका छन्। घटनाको करिब एक महिनापछि पक्राउ परेका विष्ट डिएनए नमिलेपछि छुटेका थिए।
राष्ट्रिय मानवअधिकार आयोग तथा डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनए परीक्षण प्रक्रिया नै गलत भएकाले डिएनएबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निकालेको हो। लामो अनुसन्धानमा अन्य कुनै अभियुक्तको सम्भावना नदेखिएको र परिस्थतिजन्य प्रमाणले दिलीप नै अभियुक्त भएको औँल्याइएको छ। सोही आधारमा पछिल्लो समय प्रहरी अनुसन्धान दिलीपमाथि नै केन्द्रित छ ।
निर्दोष प्रहरीले कहिले न्याय पाउने ?
एआइजी बस्नेत नेतृत्वको समितिले प्रहरीलाई यातना दिएर बयान गराएको आरोप लागेको छ। यसअघि हवल्दार धर्म्सिंह भाटले दिलीपसिंह विष्टको घरबाट सर्टको गोजी च्यातेर आफूले घटनास्थलमा लगेर फालेको बयान दिएका थिए । आफ्नो अप्रेसन गर्ने वेला भएको, तर नजरबन्दमा राखेर यातना दिएपछि सबै कुरा हो भनेर बयान गर्नुपरेको कागज उनले गरेका छन्। भाट र अर्का हवल्दार धर्मसिंह विष्टले सोही कारण राजीनामा दिएका थिए । अहिले उनीहरूले आफूहरूलाई यातना दिएर झुटो बोल्न लगाएको भनेर कागज गरिदिएका छन्।
त्यतिवेला प्रहरीहरूलाई विभिन्न गणभित्र राखेर बयान लिइसकेको थियो। यातना दिएर बयान गराइएको र आफूहरूको कुरा नसुनी हचुवाका भरमा रिपोर्ट दिएको ती प्रहरीहरूको दाबी छ। सबै घटनामा भौतिक प्रमाण हुँदैन। धेरैजसो घटनामा परिस्थितिजन्य प्रमाण र अभियुक्तको बयानलाई नै आधार मानेर मुद्दा दायर हुने गरेको छ। पुनरावेदन समितिले समेत तत्कालीन अनुसन्धानलाई नजरअन्दाज गरेर महत्ववपूर्ण उपलब्धिलाई अमान्य घोषित गरेको तथा अनुसन्धानको प्रगतिलाई शून्य घोषित गरेको उल्लेख छ ।
महानिरीक्षक ज्ञवाली एसएसपी हुँदा यो घटनाको अनुसन्धानमा खटिएका थिए। त्यसकारण उनले नै यो घटनाको भित्री पाटो बुझेका छन् । उनकै कार्यकालमा यो प्रकरण सुल्झिने र फसाइएका प्रहरीले न्याय पाउने आँकलन गरिएको छ।
पुरानै आरोपीमाथि फेरि अनुसन्धान
अब प्रहरीले फेरि पुरानै आरोपीमाथि छानबिन थालेको छ। घटनाको डेढ वर्षपछि परिस्थितिजन्य प्रमाण र स्थानीयको भनाइका आधारमा दिलीप नै यो घटनाका अभियुक्त भएको निष्कर्षमा प्रहरी पुगेको छ । उनले प्रहरीसँग गरेको बयान र घटना प्रकृति ठ्याक्कै मिल्ने भएकाले त्यो नै विष्टविरुद्ध सबैभन्दा ठूलो प्रमाण भएको प्रहरी अधिकारीहरूको भनाइ छ। उनले प्रहरीसामु देबे्र हातले घाँटी अठ्याएर आफूले निर्मलाको हत्या गरेको बताएका थिए। रिपोर्टमा देब्रे हात नै प्रयोग भएको आएको थियो ।
निर्मलाको सुरुवाल फाटेको भनेर उनले बताएका थिए, जुन कुरा प्रहरीको मुचुल्कामा थिएन। तर, निर्मलाकी आमालाई थाहा थियो। निर्मलाको साइकल बिग्रिएपछि बनाइदिने बहानामा आफूले नै खोलापारि लगेर बलात्कार गरेर उखुबारीमा फालेको बताएका थिए।
उनको भनाइ र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको थियो। सोही आधारमा निर्मलाकी आमाले उनी नै अभियुक्त भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। त्यस्तै, त्यो दिन विष्टलाई घटनास्थलनजिकै देखेको भनेर दुई स्थानीयले कागज गरिदिएका छन्। घटनापछि तीनजना महिलालाई उनले यौन दुव्र्यवहार गरेको विवरणसमेत प्रहरीले स्थानीयमार्फत संकलन गरिसकेको छ।
अर्का एक स्थानीयसँग निर्मलालाई मारेको भनेर स्वीकार गरेको भिडियोसमेत प्रहरीले प्राप्त गरेको छ । त्यस्तै, सिआइबीबाट खटिएका अन्य अनुसन्धान अधिकृतहरूले समेत दिलीप नै अभियुक्त हुने परिस्थिति देखिएको भनेर रिपोर्ट दिएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान प्रतिवेदनमा यी सबै विवरण उल्लेख गरिएको छ।
- दृष्टि साप्ताहिकबाट