लवदेव धामी
२१ माघ / मान्छे यस्तो प्राणी हो ,जो सवै भन्दा फरक छ र फरक हुन रुचाउछ। शक्ति, सत्तासँगै पहिचान बनाएर नामी बन्नु पनि मानवीय अर्को गुण हो । हामी मानव जाति जहाँ सहजता देख्छौ त्यहाँ आफुनै पुग्न पाए भनेर कल्पना गर्न थाल्छौँ । कल्पना गर्नु नै कुनै ठूलो समस्या होइन् तर जुन कल्पनाले आफू नजिकैको प्रतिस्पर्धीलाई निचा देखाउने सोचको विकास गर्छ , त्यसैले ठुलो समस्याको विजारोपण गर्छ र मान्छे आफू शक्ति अर्थात् पावर खोज्न थाल्छ। त्यही पावर र शक्तिको खोजी बनेको छ पछिल्लो समयमा राजनीति !
कुनै समयमा विद्यालयमा पढ्ने सानो बालकलाई शिक्षकले सोध्दा ऊ निर्धक्क भएर भन्थ्यो; म शिक्षक ,डाक्टर ,पाइलट, इन्जिनियर …… बन्न चाहन्छु । कति सहजै समय परिवर्तन भएछ अचेल विद्यालयमा पढ्दै गरेको सानो बालकले भन्छ म बालेन जस्तै बन्न चाहन्छु। उसले थाहा नभएर मात्रै नभनेको हो म राजनीति गर्न चाहन्छु। साँझा बुझाइमा उसले भन्न खोजेको म पनि पावरफुल बन्न चाहन्छु भन्न खोजेको हो। मैले नेता बन्नु गलत हो, भनेको होइन। तर सानो बालकमा पढेर आफ्नो कुनै निश्चित पेशा व्यवसाय गर्नुभन्दा उसलाई किन राजनीतिक मोह बढ्यो ? किन बालेन जस्तै इन्जिनियर बन्न चाहेन, किन शिक्षक बन्न चाहेन ,प्रहरी बन्न चाहेन कारण त्यही एउटा हो त्यही शक्ति ! जो मान्छेलाई राजनीतिले मात्रै दिन सक्छ भन्ने गलत भाष्यले विकास गरेको नेपाली समाजको एउटा कथन मान्न सक्छौ।
जब एउटा मास्टर डिग्री गरेको मान्छेले सामान्य लेखपढ गरेको वडा अध्यक्षसँग रोजगारीको लागि अपिल गरेको सानो बालकले आफ्नो आँखा अगाडि देख्छ। उसलाई कहाँ मन लाग्छ र मास्टर डिग्री गर्ने अझ भनौं उसलाई थाहा हुन्छ पावर शिक्षामा नभई मात्रै सत्तामा शक्तिमा रहेको आभास गर्छ र संकल्प गर्छ भविष्यमा मास्टर डिग्री गरेर वडा अध्यक्षसँग रोजगारीको लागि अपिल गर्नुभन्दा कुनै मास्टर डिग्री गरेकोलाई रोजगारी दिन सक्ने त्यसैले ऊ नेता बन्न चाहन्छ ।
एउटा स्थायी शिक्षकले आफू पायक पर्ने ठाउँमा सरुवा गर्नको लागि जब राजनीतिक व्यक्तिको पछाडि पछाडि घुम्नु परेको शिक्षकको छोराले थाहा पाउँछ उसलाई कहाँ मन लाग्छ र बुवा जस्तै शिक्षक बन्ने उसले पनि अठोट गर्छ आज जसले आफ्नो बुवालाई घुमाएको छ , त्यसैगरी मैले पनि घुमाउनको लागि झन्डा बोक्नुपर्छ अर्थात् नेता बन्नुपर्छ।
सेना प्रहरीदेखि लिएर लोकसेवाका कैयौँ परीक्षामा जब पावर लाग्छ नेताका आफन्त आसेपासे भएकै भरमा रोजगारी पाउने , एउटा कुनै पावर नभएको अर्थात् राजनीतिक शक्ति नभएको व्यक्ति जसरी पछाडि पर्छ। उसलाई कहाँ मन लाग्छ र पटकपटक पढेर लोकसेवामा फेल हुन ; उसलाई त मन लाग्छ त्यही नेता बन्ने जसले आफ्नो दक्षताको अपमान गरेर पाउनै लागेको रोजगारी पावर लगाएर खोसेको थियो। त्यसैले उ पनि बोक्न तयार हुन्छ कुनै पार्टीको झण्डा बन्न चाहन्छ नेता !
एउटा निश्चित पेशा भनौ शिक्षक , सेना ,प्रहरी ,सरकारी कर्मचारी सबैको उमेर हद लाग्ने तर राजनीति यस्तो पेशा जसमा हाम्रो देशमा कुनै हदम्याद छैन । मसान घाटको यात्रा तय नगर्दा सम्म हाम्रो देशमा जुन राजनीति गरिराख्ने परिपाटी छ त्यसले पनि कता कता यो सबैलाई राजनीति गर्ने हुटहुटी बढेको आभास मैले गरेको छु । उता अर्को सहजता पनि छ। इन्जिनियर बन्न इन्जिनियरिङ्ग गर्नैपर्छ, पाइलट बन्न पनि पढ्नै पर्छ। शिक्षक बन्न पढ्नै पर्छ, सेना प्रहरी, झन् लोकसेवा पास गरेर सरकारी कर्मचारी बन्न त कति पढ्नुपर्छ पर्छ, थोरै मेहनत गरेर ठूलो सफलताको पछाडि भाग्ने मानवीय जुन प्रवृत्ति पछिल्लो समयमा विकास भएको छ। यसले गर्दा पनि कताकता सबैलाई राजनीतितर्फ आकर्षित गरेको त होइन , सायद एक कारण यो पनि हुनसक्छ।
एक अनौपचारिक कुरामा ६० को दशकमा पुग्नै लागेका एक वृद्धले मैले गरेको यो प्रश्नमा भने (तपाईँले आफ्नो जीवनमा सबै थोक भोग्नुभयो। उल्लेख्य धनसम्पत्ति कमाउनुभयो, अब तपाईं जीवनको उत्तरार्धमा हुनुहुन्छ तपाईंको अन्तिम इच्छा के छ ? ) ती वृद्धले निर्धक्कका साथ भने मैले जीवनमा सबै थोक भोगे सुखसयल भोगे मसँग प्रशस्त सम्पत्ति पनि छ। अब म राजनीति मा जान चाहन्छु। सायद मसँग भएको सम्पत्तिको प्रयोग गर्दा म मेयर सम्म त सजिलै जितिहाल्छु। मैले फेरि प्रश्न गरे (अब सबै शिक्षित भइसकेका छन्। तपाईंको सम्पत्तिको पछाडि अब को भाग्ला र तपाईं कसरी हेक्का राखेर भन्न सक्नुहुन्छ कि सजिलै जित्न सक्छु भनेर) उनले मुस्कुराउँदै भने बाबु राजनीतिमा शक्ति छ यसमा दुई मत छैन। तर त्यो शक्ति पाउनको लागि साधन अर्थात् गन्तव्यमा पुगाउने सवारी भनेकै पैसा हो हिन्दीमा एउटा उखान छ (पैसा फ्याको तमासा देखो) जस्तोसुकै शक्ति भएपनि पैसाको अगाडि झुक्छ। त्यसैले म निर्धक्क भएर भन्न सक्छु कि म जित्न सक्छु भनेर ।
कुरा सामान्य भेटघाटमा सामान्य तरिकाले भएको थियो। तर मेरो लागि ती वृद्धले भनेका एक एक शब्द नमिठा थिए । राजनीतिमा पावर अर्थात् शक्ति आउने कारण भनेकै पैसा रहेछ। यदि कुनै राजनीतिज्ञले शून्य लगानीमा चुनाव लड्ने हो भने सायद राजनीतिमा मान्छेले धेरै शक्ति छ भनेर आभास गर्ने थिएनन् र सम्पन्न (धनी) व्यक्तिहरूले मात्रै राजनीति गर्न पाउने थिएनन् सबै त्यही शक्तिशाली अर्थात् पावरफुल व्यक्ति बन्न राजनीतिको पछाडि दौडधुप गर्ने थिएनन्।
अब तपाईं भन्नुस् कस्तो राजनीति गर्ने ? कस्तो नेता बन्ने? शून्य लगानीमा चुनाव लड्नेकी सम्पूर्ण साधन स्रोतको प्रयोग गरी शक्तिशाली बन्नको लागि मात्र चुनाव लड्ने ?
अब तपाईँ भन्नुस् कसलाई जिताउने? पैसाको खेती गर्नेलाई वा एक साधारण परिवारमा जन्मेको भविष्यको दिशा निर्देश गर्न सक्ने व्यक्तिलाई बाँकी तपाईको हातमा…!