धनगढी,२९ पुस । बाजुरामा भीरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । शनिवार भीरबाट लडेर गौमुल गाउँपालिका–५ कोटकी १६ वर्षीय विष्णुमाया रोकाया घाइते भएकी थिइन् ।
घाइते विष्णुमायालाई उपचारका लागि नजिकैको घटमुना अस्पताल पु¥याइएको थियो । तर, उक्त अस्पतालका चिकित्सकले बाहिर लान सुझावसहित रिफर गरिदिएका भए पनि आफन्तले आर्थिक अभावको कारण देखाएर सोही अस्पतालमा राखेका थिए । उपचारमा संलग्न डाक्टर कुश नेपालीले सिटी स्क्यानपछि उपचार गर्न सहज हुने भएकाले रेफर गरेको बताए ।
‘सुरुमा आर्थिक अभावको समस्या आफन्तले देखाए । स्थानीय र जनप्रतिनिधि सहित कर्मचारीले लगत्तै एक लाखसम्म जोहो गरिसकेका थिए’ उनले भने ‘तर, बिरामीसँगै जाने मान्छेसमेत भेटिएनन् । उनका बुवा भारतमा छन् । आमाले जान आँट गरिनन् । आफन्त कोही तयार भएनन् ।’ उनले शनिवार नै थप उपचारका लागि धनगढी रिफर गरे पनि नलगिएपछि बचाउन नसकिएको बताए ।