धनगढी,पुस २८ । जिल्ला सहकारी संघ लिमिटेड कैलालीको १३ औं बैठक आइतबार धनगढीमा विभिन्न निर्णयसहित सम्पन्न भएको छ । बैठकसँगै सल्लाहकारसमिति, लेखा समिति र कार्यसमितिको भेलाले सहकारीका समस्या, सवाल र चुनौती समाधानका उपाय विषयक अन्तरक्रिया पनि गरेको छ ।
बैठक तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघले आगामी कार्यक्रम मिनरल वाटर प्लान्ट, बहुउद्देश्यीय कृर्षि तालिम केन्द्र, सहकारी शिक्षा, लेखापालन तालिम, सहकारी र स्थानीय सरकारबीच अन्तरक्रिया बैठक सञ्चालन गर्ने निर्णय तथा छलफल गरिएको छ । हाल सहकारीमा भएका समस्याहरु स्थानीय र प्रदेश सरकारसँग जिल्ला सहकारी संघ मिलेर समाधान गर्नु पर्ने बैठकले निष्कर्ष निकालेको थियो ।
कार्यक्रममा गौरीगंगा नगरपालिकाका मेयर तथा सहकारी संघका सल्लाहकार देवीदत्त कडेलले बिधानतः सहकारीको हकमा धेरै समस्या भएकाले यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । संघका अध्यक्ष फणिराज सापकोटाको अध्यक्षता तथा सहकारीको सल्लाहकार संयोजक एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देबकोटाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जयप्रसाद न्यौपाने गरेका थिए भने सहजीकरण संघका सदस्य डण्डीराज सुवेदीले गरेका थिए ।