धनगढी,२८ पुस । चुरे गाउँपालिकाको आयोजनामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि श्री शिव मावि चुरे–१, किम्तोलाले जितेको छ । यही पौष २५ गतेदेखि २७ गतेसम्म चुरे–६ बयलास्थित मेलकटेश्वर माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा शिव माविले १५ स्वर्ण, ७ रजत र ८ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगितामा शुक्र मावि खानीडाँडाले ११ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै दोस्रो स्थान हात पार्यो भने जनता मावि बैसेनीले ८ स्वर्ण, ९ रजत र ३ कास्य पदकसहित तेस्रो स्थान प्राप्त ग¥यो।
शनिबार सम्पन्न यो प्रतियोगितामा चुरे गाउँपालिकाभरका ११ माध्यमिक विद्यालयको सहभागीता रहेको थियो। प्रतियोगिताको समापन समारोहमा विजेताहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन समारोहको अध्यक्षता मेलकटेश्वर मावि व्यवस्थापन समितिका अध्यक्षले गरेका थिए भने चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी प्रमुख अतिथी र उपाध्यक्ष धना देवी थापा विशिष्ट अतिथी रहेका थिए। यो प्रतियोगिता विद्यार्थीमा खेलकुदप्रतिको उत्साह वृद्धि गर्दै गाउँपालिकाको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजित गरिएको हो।