यमुना साउद धनगढी, १२ पुस । चुरे गाउँपालिकाले सुन्तलामा प्रयोग हुने नीलो तुथो र चुनाको खरिदमा अनियमितता गरेको खुलेको छ। वडा नं. १ को लागि १ लाख ५० हजार रुपैयाँको बजेटमा खरिद गरिएका यी सामग्री गुणस्तरहीन भएको स्थानीय किसानले आरोप लगाएका छन्
खरिद गरिएका सामग्रीमा उत्पादन मिति र म्याद समाप्त हुने मिति उल्लेख नभएको पाइएको छ। कुन कम्पनीबाट उत्पादन भएको हो भन्ने कुरा समेत स्पष्ट छैन। गुणस्तरहीन सामग्री पुष्टि भएपछि पालिका कृषि शाखाले ती सामानहरू फिर्ता लिएको छ।
स्थानिय किसानहरूले म्याद सकिएका वा गुणस्तरहीन सामग्री उपलब्ध गराएर ठग्ने गरेकाे गुनासो गरेका छन्। किसान एकम बहादुर साउदले भने, “गुणस्तर नभएका निलाे तुथाे र विषादीले बोटबिरुवामा हानि नोक्सानी गर्छ। यसले हामीलाई थप घाटा हुन्छ। यस्ता काम गर्नेहरूलाई कारबाही हुनुपर्छ। किसानलाई ठग्न पाइँदैन।”
त्यस्तै, अर्का किसान टेकेंद्र बमले कृषि सामग्री खरिदमा भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाहीको माग गरे। उनले भने “भष्ट कर्मचारी लाई चुरे गाउपालिकाले छानबिन गरि कारबाहि गर्नु पर्छ । कारबाही नगरेकाे खण्डमा हामी कानुनि प्रकियामा जान्छाै । कृषि शाखामा तालाबन्दी गर्छाै ।”
वडा नं. १ का अध्यक्ष डम्बर सिंहले पालिकाले खरिद गरेर वडामा पठाएको सामग्री गुणस्तरीय नभएको बताएका छन्। उनले भने, “यो हाम्रो वडाको बजेट हो, तर पालिकाले खरिद गर्यो। हामीलाई खरिद गर्न दिएनन्। अहिले काम नलाग्ने चूना पठाएको छ। पालिकालाई जानकारी गराउँदा फिर्ता गर्नुस्, अर्को पठाउँछौं भन्छन्।”
कृषि शाखा प्रमुख दीपक पाण्डेले सामग्रीको गुणस्तरबारे उठेको विवादबारे प्रतिक्रिया दिँदै भने, “चूना र नीलो तुथोमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख हुँदैन। यदि सामग्री मन नपरे फिर्ता गर्नुस्, हामी अर्को पठाउँछौं भनेका छौं।”
किसानलाई अनुदान दिने नाममा पालिकाले गुणस्तर हिन सामान उपलब्ध गराउने गरेका छन् । चुरेमा अनियमितताका कार्य हुँदै अाईरहेका छन् । यस्ता कार्यले जनताहरु ठगिने गरेका छन्।