धनगढी, ८ पुस /धनगढीमा हुन लागेको शैक्षिक महोत्सव २०८१ को तयारी पुरा भएको छ । “सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान” भन्ने मूल नाराका साथ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको प्रवर्धन तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय सङ्घ कैलालीको आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक स्टेसनरी वितरक शैक्षिक संस्था मसलन्द सामग्री शिक्षण संस्थाहरू र शिक्षासँग सम्बन्धित निकायहरूका गरी १०० बढी स्टल रहने समेत आयोजकले जानकारी दिए । साथै महोत्सवमा विद्यालय स्तरीय नृत्य कविता वक्तित्वकला र चित्र कला प्रतियोगिता आयोजनासमेत गरिने आयोजकले जानकारी दिएका छन् । मदन पुरस्कार विजेता साहित्यकार र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरूको समेत सहभागिता रहने छ ।
यसैगरी महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने र सुदूरपश्चिमका परिकार सहितका खाना र खाजाका स्थल समेत समावेश गरिएका छन् । यस्तै महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ । यो सँगै महोत्सव आयोजना गर्नलाई झण्डै २ करोड बढी खर्च हुने अनुमान आयोजकक टिमले गरेको छ ।
महोत्सवका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरू सामूहिक पोशाकमा आएमा निशुल्क प्रवेश गराइनेछ । भने स्वस्फुर्त रूपमा आउनेलाई ५० रुपैयाँ टिकट रहेको र सर्वसाधारणलाई सय रुपैयाँ टिकट रहेको छ । यस्तै जेष्ठ नागरिक फरक क्षमता भएका व्यक्तिलाई महोत्सवमा प्रवेश निशुल्क रहेको समेत आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
२०६७ सालमा आयोजना गरिएको वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई १४ वर्षपछि धनगढीमा आयोजनाको प्रयास भएको हुँदा आम सुदूरपश्चिमबासी, सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी ,उद्यमी व्यवसायीहरूलाई आआफ्नो तर्फबाट सहयोग गरी महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन समेत आयोजकले पत्रकार सम्मेलन मार्फत नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ कैलाली शाखाका अध्यक्ष भीम पडालले आग्रह गरेका छन् ।
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (पुस ९ गते ) १० बजे उद्घाटन गर्ने तय गरिएको छ । साथै उद्घाटन भन्दा अगाडि धनगढीको ट्राफिक चौराहा देखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभात फेरि आयोजना गर्ने समेत आयोजकले बताएका छन् ।