धनगढी,४ पुस / हिन्दू धर्मको उत्थानमा परिषद्को भूमिका तथा धर्म रक्षा निधि विषयको प्रबुद्ध गोष्ठी कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पाराण्डेको विशेष उपस्थितिमा विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
पछिल्लो समयमा धर्मान्तरणले ठूलो रूप लिँदै गरेको अवस्थामा विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले एक हुनुपर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पाराण्डेले सबै धर्म प्रति सम्मान छ। तर सबैले आआफ्नो धर्मको संरक्षण गर्नु पर्ने पछिल्लो समयको आवश्यकता हो। हामीले आफ्नो धर्म संस्कार बिर्सिँदै जाने हो भने अबको पुस्ता संकटमा पर्नेमा उनले जोड् दिए । साथै हिन्दू धर्मको संरक्षण गर्नको लागि सबै हिन्दूले आ(आफ्नो स्तर बाट लाग्नुपर्ने समेत बताए।
कार्यक्रमको अध्यक्षता विश्व हिन्दु परिषद् धनगढी नगरका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संवाहक महेन्द्र राज पन्तले गर्नुभएको थियो। प्रमुख अतिथिमा विश्व हिन्दू परिषद् अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पराण्डे रहनुभएको थियो। यस्तै कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध झण्डै ४ सय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा भजन, शिवताण्डव नृत्य र योग साधना लगायतका प्रस्तुति समेत समावेश गरिएका थिए।