धनगढी, ४ पुस / सुदूरपश्चिमकै एक उत्कृट शैक्षिक संस्था ग्यालेक्सी माध्यामिक विद्यालय तथा ग्यालेक्सी मल्टिपल कलेजका अध्यक्ष मोहनराज भट्ट नेपाल विद्यालय खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् । गत मंसिर २९ गते काठमाडौंमा सम्पन्न साधारण सभा तथा निर्वाचन बाट भट्ट केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
विभिन्न सामाजिक कार्यमा सहभागि भट्ट धनगढी जेसिजका पुर्व अध्यक्ष, नेपाल जेसिजका सल्लाहकार, सुदूरपश्चिमाञ्चल क्याम्पसका पुर्व क्याम्पस प्रमुख र नवजीवन सहकारी संस्थाका पुर्व महाप्रबन्धक समेत हुन् । काठमाडौंमा सम्पन्न भएको विद्यालय खेलकुद महासंघको साधारण सभामा विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय समिति चयन गरिको छ ।
सभामुख देवराज घिमिरेले उद्घाटन गरेको उक्त साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य -सचिव टंक लाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, एनओसी का महासचिव नरेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । साधारण सभा केन्द्रीय कार्यसमितिका १७, सातै प्रदेशबाट १७ र ५७ जिल्लाबाट ५७ प्रतिनिधिहरुको उपस्थिति रहेको महासंघका महासचिव कार्कीले जानकारी दिए ।