धनगढी- नेपाल चिकित्सक संघको केन्द्रिय सदस्यमा सेती अस्पतालमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रमोद जोशी निर्वाचित भएका छन्। उनी दुई हजार सात सय ९६ मत पाउँदै केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्। डा. जोशीका प्रतिद्वन्द्वी रक्षा श्रेष्ठले २ हजार २६२ मत मात्र प्राप्त गरिन । सुदूरपश्चिमबाट बिजयी हुने जोशी एक मात्र चिकित्सक हुन् । उनी नेपाल चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष समेत हुन् ।
कार्यकारिणी समितीका लागि संघको २८ औं निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो। शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको थियो। अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा डा. लोचन कार्कीले प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले जितेका हुन् । डा. कार्कीको ४ हजार १ सय ११ मत भने डा पुष्पमणि खरालको एक हजार ९ सय ७९ मत आएको छ।
१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी भएका छन् । उपाध्यक्षमा ३ हजार ९४५ मत सहित अनिलविक्रम कार्कीले जितेका छन्। उनका प्रत्यासी रञ्जीतकुमार झाले १ हजार ९५४ मत ल्याए।
