झण्डै ९ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपतिकप फुटबल प्रतियोगिता अन्तरगत वुधबार क्वाटर फाइनलका दुइ खेलहरु भएका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भइरहेको पाचौं संस्करणको हाईलेण्डर फारवेष्ट पशुपतिकप फुटबल प्रतियोगिता २०७६ अन्तरगत वुधबार भएका क्वाटर फाइनलमा जित हात पार्दै मनकामना युवाक्लब र सुप ११ स्पोर्टस क्लव सेमिफाइनलमा प्रवेश गरेका छन्। यो सँगै सेमिफाइनल समिकरण पुरा भएको छ। वुधवारको पहिलो खेलमा मनकामना युवा क्लबले नेपालगञ्ज ११ लाई ३–२ को अन्तरले हरायो। मनकामनाका लागि पहिलो हाफको ११औं मिनेटमा सुरेश खत्री, पहिलो हाफको ३३औं मिनेटमा आशिष श्रेष्ठ र सनिष तुसाजले एक एकगोल गरे। नेपालगञ्ज ११ का लागि विदेशी खेलाडी जाकोप र फगुईले एक एकगोल फर्काए।
वुधबारको दोस्रो खेलमा सुदूरपश्चिम ११ ले न्यु दुर्गा युवा क्लबलाई ३–० ले हरायो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २३औं मिनेटमा र दोस्रो हाफको ७औं मिनेटमा विदेशी खेलाडी रोमियाले दुई गोल गरे भने दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा माधव भण्डारीले एक गोल गरे। प्रतियोगिता अन्तरगत विहीबार सेमिफाइनलका खेल सुरु हुनेछन्। पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब र मनकामना युवा क्लबले प्रतिस्पर्धा गर्नेछ। शुक्रबारको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ।
माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन।
प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ। प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ। फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो। उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपतिकपको आयोजना गर्दै आएका छन्।