धनगढी,२३ कार्तिक । गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अटो चालक धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षका मानबहादुर बयाडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षका करन बोहरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुले शुक्रबार गौरीफन्टा नाकाबाट नेपाल आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षका लोकेन्द्र ओझाबाट दुई हजार भारतीय रुपैयाँ मागेका थिए । नेपालका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै पैसा मागेको पाइएपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको भन्दै उनीहरुमाथि कानुनबमोजिम कारबाही अगाडि बढाइएको कैलाली प्रहरीले बताएको छ । ओझालाई उनको पैसा समेत फिर्ता गराइएको छ ।