धनगढी, कात्तिक १७ – अल स्टार्स स्पोर्ट्स एकेडेमीद्वारा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्दै एक विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सभापति राघवेन्द्र कार्की र प्रमुख अतिथि पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री प्रकाश देउवा थिए। यसै गरी, विशिष्ट अतिथि निसर्ग अस्पतालका अध्यक्ष तिर्थ राज पन्त, धनगढी उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष गजेन्द्र शाही, तथा नेपाली कांग्रेस कैलालीका पार्टी सचिव निर्प सुनार ,लगायत विभिन्न खेलकुद क्षेत्रमा प्रशिक्षण , रेर्फी तथा खेलाडीहरु, पत्रकार ,र समाजसेवी व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा प्रमुख अतिथि देउवाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। नयाँ पुस्तालाई खेल क्षेत्रमा प्रेरित गर्न अल स्टार्स स्पोर्ट्स एकेडेमीले कार्यक्रमको आयोजना गरेको बताइएको छ।
यस अवसरमा खेल क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्व र क्लवहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा पूर्व राष्ट्रिय खेलाडी लोक बहादुर खत्री, एन्फाका पूर्व रेफ्री श्यामसुन्दर शर्मा, महिला फुटबल अभियान्ता अनिल मगर, स्टार सिटी युवा क्लब, मनकामना युवा क्लब, सुदूर पश्चिम X11 स्पोर्ट्स क्लब, घोडाघोडी युवा क्लब, सुर्मा देवी युवा क्लब, एन्फा कैलाली जिल्ला लिग २०८० का विजेता विजय स्पोर्ट्स क्लब धनगढी र सैपाल युवा क्लब अत्तरिया रहेका छन्।
कार्यक्रममा खेलाडीहरूले आफ्नो संघर्ष र अनुभवका किस्साहरू पनि बाँडे। अल स्टार्स स्पोर्ट्स एकेडेमीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।