धनगढी, १३ कार्तिक/कैलालीको गोदावरीमा जुवाखालबाट भागेका भनिएका जुवाडे पक्राउ परेका छन । गोदावरी नगरपालिका–१२ को कोल्मुडामा जुवा खेलिरहेको अवस्थामा प्रहरी गस्ती देखेपछि भागेका ४ जुवाडे पक्राउ परेका हुन ।
शुक्रबार राती प्रहरी देखेपछि भागेका भनिएका ५ जना जुवाडे मध्ये एक जना मृत फेला परेका थिए । भाग्ने क्रममा मृत्यु भएका भनिएका करन विकको शनिबार विहान शव फेला परेको थियो ।करनका आफन्तले भने सँगै रहेका जुवाडेले हत्या गरेको दावी गर्दै प्रहरीमा उजुरी दिएका छन । सोही उजुरीको आधारमा जुवाखालबाट भागेका भनिएका चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
पक्राउ पर्नेमा गोदावरी–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए । उनले मृतक करनको आफन्तले शव बुझेपछि पोष्टमार्टमका लागि पठाइएको बताए ।