यमुना साउद । धनगढी ,७ कार्तिक। दशक अघिसम्म कैलालीकाे चुरे गाउँपालिका १ पालडीका ठगि राम कामीको जीविकोपार्जनको बलियो माध्यम थियो आरन पेशा। उनी आरन पेशाबाट सहजै रुपमा घरखर्च चलाउँथे। तर पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेशा संकटमा पर्ने गरेको उनी बताउँछन्।
अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाउन थालेका छन्। जसले यहाँका आरन व्यवसायीको पेशा संकटमा पर्न थालेको छ। पहिले आरनलाई पुख्र्यौली पेशाको रुपमा अङ्गालिन्थाे । आरनमा फलामे सामग्री बनाए बापत नगद जिन्सीसमेत दिने चलन थियो। अहिले यो पेशा गुजारा चलाउनेमात्र माध्यम बनेको छ।
‘आरन पेशा छोडौँ त पुर्खाहरुको चिनो संकटमा पर्ने चिन्ता छ’, ठगिरामले भने, ‘नछोडौँ त गुजारा चलाउन कठिन छ। अहिले आरन व्यवसायीहरु धर्म संकटमा छौँ।’ बदलिँदो परिस्थितिअनुसार व्यवसायिक बन्न समेत गाह्रो देखिएको उनीहरु बताउँछन्। उनीहरुले पुख्र्यौली पेशाका रुपमा अहिलेसम्म ग्रहण गरिरहेका छन्।
वर्षै अघिदेखि आरन पेसा गरिरहेका ठगिरामले भने, ‘ यस पेशामा दुख बढि हुन्छ , आम्दानी कम , ‘हामीले वर्ष भरी भाँडाकुँडा बनाउँछौँ तर साेचे जति पैसा पाउदैनाै । जसले गर्दा निकै घाटा हुने गरेको छ। फेरि अपजस लगाउछन् । एक सरो फेर्न पनि पैसा अभाव झेलिरहनुपर्छ।’
यस्तै पालडी कै ५५ वर्षीय भीम बहादुर कामी दशक अघिदेखि आरन पेशामा निरन्तर लागिरहेका छन्।तर , उनका लागि यो पेशा त्यति लाभदायक भने छैन। उनी दिनभर मिहेनत गरेर विभिन्न फलामका औजारहरू तयार पार्छन्, तर अपेक्षित आम्दानी भने पाउन नसकेकाे उनी बताउँछन्।
भीम बहादुरको दैनिक कमाइ ६ सयदेखि ८ सयसम्म हुन्छ, तर यसले घर खर्च मात्र धान्न सकिन्छ। उनले भने, “यो पेशामा दुख धेरै छ, तर आम्दानी खासै हुँदैन। कहिलेकाहीँ त ग्राहकहरूले पनि पैसा दिन आनाकानी गर्छन्, जसले गर्दा झन् दुःख झेल्नुपर्छ।”
उनले आफ्नो मिहेनतको फल राम्रोसँग नपाउँदा कहिलेकाहीं निरास महसुस गर्ने बताएका छन्। “हामी जस्तो परिवारका लागि यो पेशा जीवन चलाउने मात्र माध्यम हो, तर यसबाट दीर्घकालीन आर्थिक जाेहाे हुदैन ,” उनले दुखेसो पोखे।
संसार बदल्दै गएको अवस्थामा, पुराना पेशाहरू जोगाउने चुनौती झन् बढ्दै गएको छ। आधुनिक प्रविधि र सस्तो उत्पादनका कारण परम्परागत आरन पेशा संकटमा परेको छ। तर पनि , भीम बहादुरजस्ता व्यक्तिहरू अझै पनि यो पेसालाई जीवन चलाउने माध्यमका रूपमा अँगालिरहेका छन्।
यस्तो परिश्रमपूर्ण पेसामा खासै फलिफाप नहुनु उनी जस्ता पेशाकर्मीहरूका लागि ठूलो समस्या बनेको छ। “जति परिश्रम गर्छौं, त्यति नै श्रमको उचित मूल्य पाइन्न,” उनले थपे।
घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि बिस हजार सम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ। अहिले आरन व्यवसाय गर्दा कमाइ अपेक्षाकृत हुन सक्दैन। दिनप्रतिदिन यो पेसा छोड्नेको संख्या बढेको छ। उक्त गाउँमा दुई जना बाहेक सबैले आरन पेशा छाेडिसकेका छन् ।
अहिले आरनमा धार लगाएकाे हसिया, कोदालो बन्चरोकाे आकार हेरेर ८० देखि १०० रुपैयाँसम्म मूल्य पाउँछन्। हसियाँ बनाएकाे एक सय पचासदेखि ३ सय रुपैयाँ सम्ममा बेचिरहेको आरनकर्मीहरु बताउँछन्।
मेहनत र परिश्रम गरे फल जहाँ पनि पाइन्छ। तर उनीहरुले काम अनुसारको ज्याला नहुँदा धेरै व्यक्ति आरन थन्क्याएर भारत हिँडेको अनुभव सुनाए।
स्थानीय सरकारले आरन व्यवसायलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नुपर्ने माग आरनकर्मीहरुको छ। अहिले बजारमा आएका औजार बनाउने गरी तालिमको प्रबन्ध हुनुपर्छ। सुलभ मूल्यमै किसानले आँगनमै फलामे सामाग्री पाउँछन्। पछिल्लो पुस्ताले आरन व्यवसायलाई रुचाउँदैन। गाउँघरमा कोइला अभाव हुन थालेको छ। जसले गर्दा आरन व्यवसाय नै संकटमा छ।
उनीहरु पुख्र्यौली पेशा जोगाउने भन्दै सानातिना काम मात्र गर्छन्। तर स्थानीय तहले आरनलाई व्यवसायकै रुपमा अघि बढाउनको लागि लगानी गरेको खण्डमा आरन पेशा प्रमुख आम्दानीको स्रोत बन्ने निश्चित रहेको उनिहरु बताउँछन्।
