पुनर्वासमा, १४ माघ- कञ्चनपुरको पुनर्वासमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पुनर्वास नगरपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ बारे जानकारी दिइएको छ । प्रतियोगिता यही माघ २५ गतेदेखि हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा फुटबल प्रति यहाँका खेलाडीहरूको आकर्षण बढ्दो क्रममा रहेको र यस क्षेत्रका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा समेत भाग लिइसकेको हुँदा नगरपालिकाले पनि फुटबल खेललाई प्राथमिकता दिएको नगर प्रमुख थापाको भनाइ छ । उहाँका अनुसार प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का स्थानीय तहहरूले टिम दर्ता गराउन सक्ने छन् ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा हुने मेयर कप फुटबलका लागि यही माघ २३ गतेसम्म टिम दर्ता गराउन सकिने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी टिमलाई दश हजार शुल्क लाग्ने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने बताइएको छ । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद प्रदान गरिने नगर उपप्रमुख शारदा शर्मा बिष्टले जानकारी दिनुभएको छ । त्यसैगरी बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।