डडेलधुरा,२६ भदौ / अमरगढी नगरपालिका–७ ले चालु आर्थिक वर्ष २०८३/८४ का लागि नगरपालिकाबाट प्राप्त १५ लाख रुपियाँको बजेट विभिन्न शीर्षकमा विनियोजन गरेको विवरण सार्वजनिक भएपछि वडावासीबिच चर्काे बहस सुरु भएको छ ।
वडाको बजेट विवरणमा माली व्यवस्थापनका लागि एक लाख ८० हजार, चाडपर्व तथा संस्कृति जगेर्ना कार्यक्रमका लागि दुई लाख २० हजार, अवलोकन अध्ययन भ्रमणका लागि तीन लाख ५० हजार, उग्रतारा मावि अनुदानका लागि दुई लाख, सडक सरसफाइ तथा ग्राभेलका लागि दुई लाख ५० हजार र भइपरी तथा विविध कार्यक्रमका लागि तीन लाख रुपियाँ छुट्याइएको उल्लेख छ ।
त्यस्तै तीन लाख ५० हजार रुपियाँको अवलोकन अध्ययन भ्रमण र दुई लाख २० हजार रुपियाँको चाडपर्व तथा संस्कृति जगेर्ना कार्यक्रमको प्रकृति, सहभागी, कार्यक्रमस्थल तथा अपेक्षित उपलब्धिबारे पनि थप स्पष्टता आवश्यक रहेको स्थानीयको भनाइ छ ।
यी शीर्षक अन्तर्गत कुन स्थानमा, कुन प्रकृतिको काम गर्ने, लाभग्राही को हुने, कति परिमाणमा काम गर्ने र खर्चको आधार के हुने भन्ने विस्तृत विवरण चाहिँ नखुलाइएको भन्दै वडावासीले प्रश्न उठाएका छन् । वडावासीले बजेटमा स्पष्ट योजना, स्थान, उद्देश्य र कार्यान्वयनको आधार नखुलाई ठुलो रकमलाई विविध वा भइपरी शीर्षकमा राख्दा त्यसको खर्च प्रक्रिया र निगरानी कसरी हुने भन्ने प्रश्न गरेका छन् ।
यस्तै स्थानीय रोशन भण्डारीका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटोका समस्य वडा नम्बर ७ का साझा समस्या हुन् । थोरै भए पनि बाटो निर्माण गरिनुपर्ने, खानेपानीका पाइप व्यवस्थापन गरिनुपर्ने; शिक्षा, स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन हुनुपर्ने हो । तर वडा कार्यालयले भ्रमण र विविध खर्च भनेर मनलाग्दी खर्च गर्न योजना बनाएको छ । यो परिमार्जन हुनुपर्ने उनिलगायतका वडावासीको माग रहेको छ ।