घोडाघोडी, २४ भदौ / बर्दगोरिया गाउँपालिका–बौनियास्थित सहारा घरका सञ्चालक बलबहादुर विष्ट समाजसेवामा पु¥याएको योगदानका लागि एक लाख रुपियाँ नगद राशिसहित सम्मानित हुने भएका छन् । सडकमा अलपत्र परेका मानसिक रोगी तथा असहाय व्यक्तिको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलन गराउँदै आएका विष्टलाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले समाजसेवाको क्षेत्रमा उदाहरणीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । कोषका अध्यक्ष ध्रुव नेपालका अनुसार सेवाको भावनाले सामाजिक सेवाजस्तो पुण्य कार्यमा समर्पित भई नेपाल र नेपालीको हितमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थाको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने गरिएको हो।
यस वर्ष असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर) का सञ्चालक विष्टलाई पुरस्कार प्रदान गर्ने निर्णय कोषको साधारणसभाले गरेको हो । कोषले पठाएको पत्रअनुसार विष्टलाई असोज २ गते काठमाडौँमा एक लाख रुपियाँ नगदसहित सम्मान गरिनेछ ।
सहारा घरलाई आफ्नो जीवनको सेवायात्राको प्रतीकका रूपमा लिएर निरन्तर मानवीय सेवामा सक्रिय विष्टले आफूलाई पुरस्कारका लागि छनोट गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभएको छन् । उनले सहारा घरले गर्दै आएको मानवीय सेवाको कदर भएको भन्दै यसबाट आफूलाई अझ जिम्मेवार भएर सेवा गर्न प्रेरणा मिलेको बताए ।
विष्टले २०७० सालदेखि सडकमा अलपत्र परेका मानसिक रोगी तथा असहाय व्यक्तिको उद्धार गरी आश्रय दिने अभियान सञ्चालन गर्दै आउनुभएको हो । लामो समयदेखि परिवारबाट छुट्टिएका तथा सडकमा जीवन बिताउन बाध्य भएका व्यक्तिलाई उद्धार गरी सहारा घरमा आश्रय, खाना, कपडा तथा आवश्यक हेरचाहको व्यवस्था गर्दै आएका विष्टले हालसम्म पाँच सयभन्दा बढी व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराएको बताए।
हाल सहारा घरमा एक सयभन्दा बढी असहाय व्यक्तिले आश्रय लिइरहेका छन् । सहारा घरले देश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न सहयोगी मन भएका व्यक्तिबाट प्राप्त सहयोगका आधारमा आफ्नो सेवा सञ्चालन गर्दै आएको छ । सडकमा बेवारिसे अवस्थामा रहेका व्यक्तिलाई उद्धार गरी सुरक्षित आश्रय प्रदान गर्ने र सम्भव भएसम्म परिवारको खोजी गरी पुनर्मिलन गराउने सहारा घरको अभियानले पछिल्लो समय राष्ट्रियस्तरमै चर्चा पाउँदै आएको छ।