बाजुरा, २४ भदौ / बाजुरामा खोलाले बगाउँदा एक जना किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १६–१७ वर्षीय छोरा अनुज सिंह रहेका छन् ।
भदौ २३ गते दिउँसो बाख्रा चराउन गएका सिंह कालसिगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी चौकी जुड्डीका इन्चार्ज रमेश रावलले बताए ।
किशोरलाई खोलाले बगाएको कुरा स्थानीय खडक भण्डारीले भदौ २३ गते साँझ करिब ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।
त्यसपछि प्रहरी र स्थानीयले किशोरको खोजी गरे पनि फेला पार्न सकेनन् । आज फेरि सात जना सशस्त्र प्रहरी, तीन जना नेपाल प्रहरी र स्थानीयवासीले उक्त क्षेत्रमा खोजी गरिरहेको रावलले बताए ।