धनगढी, ३१ साउन / सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामै ट्राफिक नियम उल्लंघन गर्ने हजारौँ सवारी साधन कारबाहीमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन १ गतेदेखि ३० गतेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३८१ वटा सवारी साधनलाई कारबाही गरिएको हो।
कारबाहीबाट ३७ लाख ९० हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ। सोही अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ८७ जना चालकलाई कारबाही गरिएको छ। उनीहरूबाट ४ लाख ३८ हजार रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै, क्षमताभन्दा बढी अर्थात् ओभरलोड बोकेर सञ्चालन गरिएका ४५७ वटा सवारी साधनलाई कारबाही गरी ३ लाख ८२ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ।
ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने ट्राफिक नियम उल्लंघनका भिडियोको समेत अनुसन्धान गरी कारबाही गर्ने अभियान सुरु गरेको छ। सामाजिक सञ्जालमा यात्रु झुण्ड्याएर जिप चलाएको भिडियो सार्वजनिक भएपछि डडेल्धुरामा सञ्चालनमा रहेको म १ ज २०६ नम्बरको जिप नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, क्षमताभन्दा बढी यात्रु बोकेका मोटरसाइकल तथा ढोका खोलेर सवारी चलाउने ट्रकसहित विभिन्न सवारी साधनलाई पनि कारबाही गरिएको छ।
ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कैलाली र कञ्चनपुरमा तीन पाङ्ग्रे अटोमा सिरियल नम्बर सहितको स्टिकर टाँस्ने अभियानसमेत सुरु गरिएको छ। वर्षायाममा हुन सक्ने सडक अवरोध तथा ट्राफिक व्यवस्थापनबारे जानकारी आदानप्रदान र निर्देशनका लागि कार्यालय मातहतका प्रमुखलाई ह्वाट्सएप समूहमा जोडिएको छ।
सार्वजनिक सवारीमा महिला, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण सिट र भाडा छुटसम्बन्धी कार्ययोजना २०८३ पनि कार्यान्वयनमा ल्याइएको छ। अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई नम्बर प्लेट स्पष्ट बनाउन लगाउने तथा सार्वजनिक र निजी सवारीमा लगाइएका कालो स्टिकर हटाउने अभियानलाई समेत निरन्तरता दिइएको छ।
ट्राफिक प्रहरी र सवारी परीक्षण कार्यालय अत्तरियाको संयुक्त आयोजनामा सवारी साधनको यान्त्रिक परीक्षणलाई निरन्तरता दिइएको छ। मादक पदार्थ सेवनसम्बन्धी अनुशिक्षण कक्षा पनि अब सातामा दुई दिन सञ्चालन गर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो कक्षा शुक्रबार मात्र सञ्चालन हुँदै आएको थियो।
साउन ११ गते अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा लेन अनुशासन र सवारी सञ्चालनसम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो। गोदावरी नगरपालिका, स्वास्थ्य संस्था, यातायात व्यवसायी तथा चालक–सहचालकको सहभागितामा डेमोसहित कार्यक्रम गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, विद्यालय तथा ओपन स्काउटका विद्यार्थीलाई सहभागी गराई नियमित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित दशरथचन्द राजमार्गमा दुर्घटना बढी हुने क्षेत्रलाई लक्षित गर्दै ब्ल्याक स्पटसम्बन्धी सचेतनामूलक बोर्डसमेत राखिएको छ।
ट्राफिक प्रहरीले लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध पनि निगरानी बढाएको छ। साउन महिनामा दुईपटक गरिएको स्वास्थ्य परीक्षणका क्रममा ७ जना चालकमा लागू पदार्थ सेवन गरेको पुष्टि भएको थियो। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने एक जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरालाई पत्राचार गरिएको छ।
यातायात व्यवस्था कार्यालय कैलालीसँगको समन्वयमा चिसापानीमा ७२ वटा सवारी साधनको संयुक्त चेकजाँच गर्दा ७ वटा सवारी साधन कारबाहीमा परेका छन्। उनीहरूबाट २७ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ।
स्वामित्व नखुलेका १७ वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ। गैरकानुनी रूपमा चलाइएका तथा सवारीधनी नखुलेका थप १५ वटा मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सुदूरपश्चिममा साउन महिनामा २०३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १०३ जना गम्भीर र १९८ जना सामान्य घाइते भएका छन्।
ट्राफिक व्यवस्थापनसँगै प्रहरी कर्मचारीको मनोबल र प्रोत्साहनका लागि पनि विभिन्न कार्यक्रम सुरु गरिएको छ। महिनाभर जन्मदिन पर्ने प्रहरी कर्मचारीको सामूहिक जन्मोत्सव मनाउने, कर्मचारीका लागि समूह बनाएर फिल्म हेर्ने तथा बिदाका दिन ड्युटीमा नरहेका प्रहरी कर्मचारीलाई पालैपालो हाइकिङ लैजाने योजना अघि बढाइएको छ।