धनगढी, ३० साउन / बाजुराका नौवटै स्थानीय तहका झण्डै ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा परेका छन्। तीमध्ये ४९ गाउँबस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहे पनि हालसम्म सुरक्षित स्थानमा सार्न सकिएको छैन।
भिरालो भूभाग, कमजोर भू-बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण ती बस्ती जोखिममा परेका हुन्। विगतका वर्षदेखि जोखिममा रहेका यी बस्तीका स्थानीयले पटक–पटक सरकारसँग स्थानान्तरणको माग गर्दै आए पनि त्यसको कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्।
जिल्लाको बडीमालिका नगरपालिकामा १६, बुढीगङ्गा नगरपालिकामा १२, त्रिवेणी नगरपालिकामा १६, बुढीनन्दा नगरपालिकामा ११, गौमुल गाउँपालिकामा १२, खप्तड छेडेदह गाउँपालिकामा १०, जगन्नाथ गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापर गाउँपालिकामा सात र हिमाली गाउँपालिकामा चार गाउँबस्ती पहिरोको जोखिममा रहेका छन्।
हिमाली गाउँपालिकाका कवाडी, क्वीडी, बोर्ता र बोल्डीक स्वामीकार्तिक खापरका रुडी, छुदरी, पुडेनी, घट्टा, तल्लो जुकु, जेरा र डाँडावाडास जगन्नाथका लुमा, आसवाडा र पैयापहिरोस बुढीनन्दाका मटेला, पार्तोला, रावतवाडा, पिपलडाली र कोल्टीलगायतका बस्ती स्थानान्तरणको प्रतीक्षामा छन्।
त्यस्तै, बडीमालिकाका सल्लेना, मैमातोला, बिष्टवाडा, बथानलेख, उखाडी, जिल्लीस गौमुलका दुर्गाली, खौला, अन्द्राडी, कुहुडा, पौदाली, आगर, पाते, गर्जे, कौडाकोट, गदाडा, नखराडा, पडीकोट, गैरीवाडा, शान्तिटोल, चदारवाडा, सालिकोट र बुढीगङ्गाका अम्कोट, बजेडी, काप्रा, देनसायल, निमनी तथा बेलकाटिया बस्तीसमेत उच्च जोखिममा छन्।
यस्तै, त्रिवेणीका सिम्ला, सिन्नेकोट, बमवाडा, पैमा, भाटगाउँ तथा खप्तड छेडेदहका आरुगाडा, धनाल्त, गुइबन, दोगडी, सिम्पाटा, नाइला, चदारवाडा, हातेखेल र गुम्लागाउँ पनि स्थानान्तरणको प्रतीक्षामा रहेका बस्ती हुन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यी बस्ती सुरक्षित स्थानमा सार्न उपयुक्त ठाउँको पहिचान गरिएको भए पनि प्रक्रिया र स्रोतको अभावमा कार्यान्वयन हुन सकेको छैन।
स्थानीय तहहरूले पिनालेख, चुथी, मैमातोला, खोया, चौसाल, बर्दादेवी क्षेत्र, करासैन, पाण्डुसैन, अम्लिस, बासैन, डोप्केगडा, चौढुङ्गा, मेलपाटा, खरिपाटा, बर्मे, मेलगड्यान, लमगाउँ, काडाकोट, कोट, गोत्री, मनिकाडा, सुईजिउला, कप्साडी, तिथिचौर, साँखा, धुलाचौर र युनाबगर क्षेत्रलाई सुरक्षित स्थानका रूपमा पहिचान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २०७७ यता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी ६२ जनाले ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहे पनि आवश्यक प्रक्रिया, बजेट र व्यवस्थापनको अभावमा कार्यान्वयनमा कठिनाइ भइरहेको बताए ।