काठमाण्डौ ३० साउन / पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता लोकतन्त्रका लागि अत्यन्त आवश्यक रहेको बताएका छन् । आज आफ्नो निबास महाराजगन्जमा सञ्चारकर्मीसँगको भेटघाटमा देउवाले आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे ।
उनले प्रेस स्वतन्त्रताको विषय आफू पक्ष वा विपक्षमा रहेको भन्ने विषय नभएको भन्दै प्रेसले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने बताए । “प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,” देउवाले भने, “प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ ।”
देउवाले सुदूरपश्चिमले आफूलाई दिएको माया र समर्थनप्रति आफू सदैव ऋणी रहेको बताए । सुदूरपश्चिमका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
डडेल्धुराको प्रसंगमा देउवाले आफ्नो जिल्लाका लागि पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए। “डडेल्धुराका लागि अझै गर्न बाँकी छ, त्यो पनि पूरा गर्छु,” उनले भने ।
नेपाली काँग्रेसभित्रको एकताको विषयमा देउवाले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको बताए । यस विषयमा धेरै प्रतिक्रिया दिन आवश्यक नरहेको उनको भनाइ थियो ।
पार्टी माथि उठेका विषय तथा विवादका सम्बन्धमा देउवाले अदालतबाट न्याय प्राप्त हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।