धनगढी, २९ साउन / दुधवा–गौरीफंटा मार्गमा जंगलबाट निस्किएको हात्तीको ठूलो झुन्ड अचानक मुख्य सडकमा आएपछि केही समय भागाभाग मच्चिएको छ।सडक किनारमा इन्टरलकिङका लागि सपोर्ट वाल निर्माणको काम भइरहेका बेला हात्तीको झुन्ड सडक क्षेत्रमा प्रवेश गरेको हो। हात्ती आफ्नोतर्फ आउँदै गरेको देखेपछि निर्माण कार्यमा खटिएका मजदुरहरू ज्यान जोगाउन औजारसमेत छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए।
हात्तीको झुन्ड सडकमा आएपछि मोटरसाइकललगायत अन्य सवारीसाधनसमेत रोकिएका थिए। मजदुर तथा यात्रुहरूले समयमै सुरक्षित दूरी कायम गरेकाले घटनामा कुनै मानवीय क्षति भने हुन पाएन।
हात्तीको झुन्ड केही समय सडक क्षेत्रमा रहेपछि निर्माण कार्यसँगै सवारी आवागमनसमेत प्रभावित भएको थियो। जंगलबाट हात्ती सडक क्षेत्रमा आउन थालेपछि उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।