धनगढी, २६ साउन / अछाममा भालुको आक्रमणबाट २० वर्षीय एक युवक घाइते भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका-६ दुनी सेलपाखाका नबिन आउजी सोमबार साँझ भालुको आक्रमणमा परी घाइते भएका हुन । प्रहरीका अनुसार सोमबार साँझ करिब ६ बजे घर नजिकैको दोगडी खोलामा गोरु चराएर घर फर्किने क्रममा आउजी माथि एक्कासि भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट उनको टाउको, अनुहार र पिठ्युँमा चोट लागेको छ ।
घटनापछि स्थानीयको सहयोगमा घाइते आउजीलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल लगिएको थियो ।उनलाई राति करिब ९ः४० बजे अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बहादुर बमका अनुसार घाइते आउजीको अवस्था मध्यम रहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको र अस्पतालमा उपचार भइ रहेको बमले बताए ।
घर नजिकै गोरु चराएर फर्कने क्रममा भालुको आक्रमणमा परे पछि सेलपाखा क्षेत्रमा स्थानीयवासी त्रसित बनेका छन् । ग्रामीण वस्ती आसपास वन्यजन्तुको गतिविधि देखिन थाले पछि स्थानीयलाई थप सतर्क रहनु पर्ने अवस्था देखिएको छ ।