कञ्चनपुर, २६ साउन / कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका -१८ स्थित सालघारीबाट कटुवा पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका -१ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेल्डाडी गाउँपालिका – ३ का १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिका -६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार चारै जनालाई शङ्का लागि सोधपुछ तथा चेकजाँच गर्दा मोबाइलमा कटुवा पेस्तोल सहितको फोटोरभिडियो देखिएपछि थप अनुसन्धान गर्दा विपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका -१८ स्थित मामा भान्जा चोकमा रहेको डेरा कोठामा कटुवा पेस्तोल फेला परेको थियो । उनले चारै जनालाई नियन्त्रणमा लिई छानबिन गरिरहेको बताए ।