धनगढी , २५ साउन / डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं. २, लाटामाडौँमा लाटादेवता मन्दिर निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ।
समाजसेवी सिद्धराज पनेरु र दिल बहादुर मडैले साउन १४ गतेबाट सुरु गरेको आर्थिक सहयोग (दान) संकलन अभियानमा हालसम्म ४८ जना दाताहरूबाट १ लाख १४ हजार ९सय ७७ रुपैयाँ संकलन भइसकेको अभियानकर्मी सिद्धराज पनेरुले जानकारी दिएका छन्।
यही साउन २८ गते वैदिक विधिपूर्वक शिलान्यास गरी मन्दिर निर्माण कार्य अगाडि बढाइनेछ। मन्दिर निर्माण कार्य सम्पन्न नहुँदासम्म यो सहयोग संकलन अभियान जारी रहने बताइएको छ।
सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेको यस अभियानका अभियन्ता सिद्धराज पनेरु हाल देशबाहिर रहेका कारण रकम संकलन को असिग्राम मावि, रुपालका सेवानिवृत्त शिक्षक तथा असिग्राम मन्दिर, रुपालका भँडारी दिल बहादुर मडैको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०९३००९१३२४६०००११ र सोही खाताको QR कोडमार्फत भइरहेको छ। सम्पूर्ण आय-व्ययको विवरण पनि दिल बहादुर मडैबाट नै सार्वजनिक गरिनेछ।

दाताहरूको नामावली तथा सम्मानको व्यवस्था
मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको रकमका आधारमा १०१ देखि १००० सम्म रजिस्ट्रारमा नाम अभिलेख राखिने, १००१ देखि ५००० सम्म मन्दिर परिसरमा राखिने ‘दाता नामावली ब्यानर’मा नाम समावेश गरिने र ५००१ भन्दा माथि मन्दिर परिसरमा राखिने शिलालेखमा नाम लेखिने अभियान्ता पनेरुले बताएका छन्।
समाजसेवी पनेरु यसअघि पनि विभिन्न सामाजिक र धार्मिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। उनले डडेल्धुराको भागेश्वर २ रुपालमा रहेको अशिग्राम माविका लागि साउण्ड सिस्टम खरिद अभियान, वडा नम्बर २ कै अशिग्राम मन्दिरका लागि आवश्यक सामाग्री खरिद अभियान, खिटकेश्वर मन्दिरमा बसाहा (नन्दी) स्थापना अभियान र कैलपाल मन्दिर परशुराम ३ थापलाका लागि आवश्यक सामाग्री सहयोग अभियान सञ्चालन गरेका थिए।
लाटादेवता मन्दिर निर्माण कार्यलाई सफल बनाउन आर्थिक सहयोगको अपील गरिएको छ।