धनगढी, २४ साउन / कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिएका छन् । उनको शव आइतबार तिलौराकोट सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । ‘सामुदायिक वनमा उहाँको शव फेला परेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’
६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता भएका थिए । उनी शुक्रबार दिउँसो अन्दाजी २ बजेतिर कपिलवस्तु-३ स्थित घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफूनिकटका केही व्यक्तिलाई जंगलमा बाटो बिर्सिएर अलमलिएको भन्दै फोन गरेका थिए । त्यसपछि आफन्तसहित प्रहरीको टोली खोजीमा निस्किएको थियो । खोजीका क्रममा पूर्व-पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु।प्र।०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी अलमलिएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिंह २०७४ सालमा कपिलवस्तु नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित भएका थिए ।