धनगढी, २४ साउन / देशभर यस वर्ष धान रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ । कृषि विभागका अनुसार साउन २२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ९६.०६ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।
विभागको तथ्यांकअनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइँ सकिएको हो ।
गत वर्षको यही अवधिसँग तुलना गर्दा यस वर्ष रोपाइँको अवस्था निकै राम्रो देखिएको छ । गत वर्ष साउन २२ गतेसम्म ९१.३१ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । त्यतिबेला १३ लाख ७८ हजार ९६७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो ।
प्रदेशगत तथ्यांकमा सुदूरपश्चिम अगाडि देखिएको छ । उक्त प्रदेशमा लक्षित १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै धान रोपाइँ पूरा भएको छ । बागमतीमा ९७.८२ प्रतिशत, लुम्बिनीमा ९७।३७ प्रतिशत र कर्णालीमा ९६.८२ प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत, मधेशमा ९४.६५ प्रतिशत र कोशी प्रदेशमा ९३.६९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
समयमै मनसुन सक्रिय हुनु र पर्याप्त वर्षा हुनुले यस वर्ष किसानलाई धान रोपाइँका लागि सहज वातावरण बनेको कृषि मन्त्रालयका अधिकारीहरूको भनाइ छ । अनुकूल मौसमका कारण रोपाइँको गति गत वर्षको तुलनामा बढेको उनीहरूले बताएका छन् ।
नेपालको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन मुलुकको खाद्य सुरक्षा र समग्र कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको छ । त्यसैले धान रोपाइँको प्रगतिलाई कृषि क्षेत्रको महत्वपूर्ण सूचकका रूपमा लिने गरिन्छ । चालु वर्ष रोपाइँको गति अपेक्षाकृत तीव्र देखिएकाले उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।