धनगढी, २३ साउन / बैतडी समाज कैलालीले हरेक वर्ष श्रावण महिनालाई ‘रक्तदानको महिना’का रूपमा मनाउँदै आएकोमा यस वर्ष आयोजना हुने १८औँ रक्तदान महोत्सवको तयारी पूरा भएको जनाएको छ।
समाजले कैलाली उद्योग वाणिज्य संघको सहकार्य तथा रक्तसञ्चार केन्द्र कैलालीको प्राविधिक सहयोगमा यही श्रावण ३० गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान महोत्सव आयोजना गर्न लागेको हो। उत्तरबेहडीस्थित पदमा हेल्थ कलेजको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा सहभागी रक्तदाताको निःशुल्क स्वास्थ्य परीक्षणसँगै आँखा, दाँत तथा सुगर परीक्षणसमेत गरिनेछ।
समाजका अध्यक्ष गजेन्द्र वीर चन्दका अनुसार कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने रक्तदातालाई विशेष उपहारको व्यवस्था गरिएको छ।
रक्तदान महोत्सवमा सहभागी हुनेलाई समृद्धि डेन्टलले निःशुल्क दन्त परीक्षण तथा आवश्यक परामर्श दिने भएको छ। साथै, औषधिमा विशेष छुटको व्यवस्था गरिएको समाजले जनाएको छ।
यसैगरी, नवजीवन अस्पतालले सहभागीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्शका लागि विशेषज्ञ चिकित्सकको निःशुल्क ओपीडी सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले निःशुल्क सुगर परीक्षण र थाइराइड परीक्षणमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।
धनगढी नेत्रालयले पनि रक्तदान महोत्सवमा सहभागी हुनेहरूका लागि निःशुल्क आँखा परीक्षण तथा आवश्यक औषधि वितरण गर्ने भएको छ। मोतिबिन्दु, जलविन्दु तथा आँखामा मासु पलाएका बिरामीका लागि CICS प्रविधिबाट धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम संयोजक वीरबहादुर महराले जानकारी दिए।
त्यस्तै, OCT मेसिनमार्फत आँखाको पछाडिको पर्दाको परीक्षणमा धनगढी नेत्रालयले १५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ।
पहिलोपटक रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई सामाजिक संस्था भक्त बीबी फर ह्युमानिटीले समर पहिरनका लागि संस्थाको लोगो तथा ‘रक्तदान गरौँ’ भन्ने सन्देश अंकित पोलो टिसर्ट प्रदान गर्ने भएको छ।
धनगढी-५, तारानगरस्थित पोटली फुड्सको संयोजनमा पहिलोपटक रक्तदान गर्ने रक्तदातालाई ५५१ रुपैयाँ बराबरको निःशुल्क फुड कुपनसमेत उपलब्ध गराइने भएको छ। कार्यक्रममा रक्तदातालाई प्याकेटको जुसको सट्टा मोही खुवाउने व्यवस्था गरिएको समाजका सदस्य राजबहादुर चन्दले बताए।
कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले प्रहरी पब्लिक ब्याडमिन्टन क्लबले टिसर्ट छपाइमा सहयोग गरेको समाजले जनाएको छ।
सामाजिक हातहरूको सहकार्यमा कार्यक्रममा सहभागी सबैका लागि दिवाभोजस्वरूप खिरलगायत विभिन्न परिकारसमेत वितरण गरिनेछ।
बैतडी समाज कैलालीले हालसम्म १७ वटा रक्तदान कार्यक्रम सम्पन्न गरी १ हजार ५ सय ८६ युनिट रगत संकलन गरिसकेको जनाएको छ। समाजले यस वर्षको रक्तदान महोत्सवलाई पनि सभ्य र भव्य रूपमा सफल बनाउन कैलालीका सम्पूर्ण नगरवासी तथा स्वयंसेवी रक्तदातालाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।
