धनगढी, २० साउन / करिब १६ वर्षसम्म सरकारी अभिलेखमै रहेको एउटा गम्भीर त्रुटि वा सम्भावित किर्ते अहिले आएर सार्वजनिक भएको छ। अर्कै व्यक्तिको नागरिकता नम्बर प्रयोग गरेर चालक अनुमतिपत्र (लाइसेन्स) बनाइएको तथ्य खुलेपछि सरकारी निकायको अभिलेख प्रणालीमाथि नै प्रश्न उठेको छ।
प्राप्त कागजातअनुसार लाइसेन्समा राजेश बहादुर अग्रवालको नाम उल्लेख छ। तर उक्त लाइसेन्समा प्रयोग गरिएको नागरिकता नम्बर ५७७९९२२ भने महेन्द्रनगर नगरपालिका-६ निवासी भीम बहादुर कामीको नाममा जारी भएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको अभिलेखले पुष्टि गरेको छ।
यो विषय अदालतसम्म पुगेपछि कञ्चनपुर जिल्ला अदालतको पत्रको जवाफ दिँदै जिल्ला प्रशासन कार्यालयले उक्त नागरिकता नम्बर भीम बहादुर कामीकै नाममा रहेको जानकारी दिएको हो। यद्यपि, नागरिकता जारी गर्दा पेस गरिएका अनुसूचीसहितका सक्कल कागजात खोजी गर्दा फेला नपरेको व्यहोरा पनि अदालतलाई जानकारी गराइएको छ।
यातायात व्यवस्था कार्यालयबाट प्राप्त विवरणअनुसार विवादित लाइसेन्स पहिलो पटक वि.सं. २०६६ (सन् २०१०) मा जारी भएको थियो। त्यसपछि भने पटक–पटक नवीकरण हुँदै आएको देखिन्छ। तर नाम एक जनाको र नागरिकता नम्बर अर्कै व्यक्तिको हुँदा पनि झण्डै १६ वर्षसम्म कसरी सरकारी प्रणालीबाट नवीकरण भइरह्यो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ।
घटनाले नागरिकता र चालक अनुमतिपत्र जस्ता संवेदनशील सरकारी अभिलेखको सुरक्षा तथा प्रमाणीकरण प्रणालीमाथि समेत प्रश्न खडा गरेको छ। प्रारम्भिक रूपमा यो घटना लिखत किर्ते, ठगी वा सरकारी कागजातको दुरुपयोगसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
यी हुन किर्ते कागजात:-

