धनगढी, १९ साउन / धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुक धामीको मृत्यु भएको नौ दिनपछि मंगलबार माइती पक्ष र ससुराली पक्षबीच आपसी सहमति भएपछि अन्ततः अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार पोस्टमार्टम रिपोर्ट भने अझै प्राप्त भएको छैन। रिपोर्ट पुनः परीक्षणका लागि पठाइएकाले सार्वजनिक हुन बाँकी रहेको उनले बताए।
पोस्टमार्टम रिपोर्ट नआउँदासम्म अन्तिम संस्कार नगर्ने अडानमा रहेको माइती पक्ष र अन्त्येष्टि गर्न चाहेको ससुराली पक्षबीच लामो समयदेखि विवाद चलिरहेको थियो। दुवै पक्षबीच सहमति जुटेपछि नौ दिनदेखि रोकिएको अन्त्येष्टि सम्पन्न भएको हो।
पूजाको साउन ११ गते मृत्यु भएको थियो। घटनालाई लिएर माइती पक्षले हत्या भएको आशंका गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएको थियो। यता ससुराली पक्षले भने आत्महत्या भएको दाबी गर्दै आएको छ।
घटनाको पोस्टमार्टम नेपालगञ्जमा सम्पन्न भए पनि रिपोर्ट पुनः परीक्षणका लागि पठाइएकाले अझै सार्वजनिक भएको छैन। प्रहरीले रिपोर्ट प्राप्त भएपछि अनुसन्धानलाई थप अघि बढाइने जनाएको छ।