धनगढी, १६ साउन / कैलालीको कैलारी गाउँपालिका–५ छोटिपलिया क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका दुई लाख ४६ हजार रुपैयाँ बराबरका कपडा प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सावन सिंह क्षेत्री भाटको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले शनिबार राति करिब ११ बजे उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा ८८ थान सुट, ९४ थान कुर्ती र १० थान साडी रहेका छन्। बरामद गरिएका लत्ताकपडाको अनुमानित मूल्य दुई लाख ४६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोली पुगेपछि सामान ल्याउने व्यक्ति फरार भएको र सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालय हलियाले जनाएको छ।