धनगढी, १३ साउन / कैलालीको धनगढी उपमहानगरपालिका-२, सन्तोषी टोलस्थित आफ्नै कोठामा एक प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार अपराह्न करिब २ः४० बजे कोठा नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।
मृतक दार्चुलाको महाकाली नगरपालिका–१ स्थायी घर भई हाल धनगढी-२ मा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेका छन्। उनी प्रहरी चौकी सुलेखान, बैतडी दरबन्दी भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। शवको मुचुल्का तथा पोस्टमार्टमलगायत कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।