बैतडी, १२ साउन / बैतडीमा गोरुलाई मरासन्न हुने गरी कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन नगरपालिका–१ लदैलीका नाबालक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए ।
स्थानीय जंगलमा आफ्नै गोरुलाई लौरोले कुटपिट गरी खुट्टा भाँचिएपछि भिरबाट फालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न नाबालकलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पाटनले गोरुलाई कुटपिट गर्ने नाबालक र घटनाको भिडियो बनाउने अर्का व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । सोधपुछपछि भिडियो बनाउने व्यक्तिलाई छाडिएको र गोरुलाई कुटपिट गर्ने नाबालकमाथि पशुपन्छीसम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्राप्त भिडियोमा ती नाबालकले गोरुलाई लौरोले कुटपिट गर्दै खुट्टा भाँचिएको देखिन्छ । त्यसपछि गोरुलाई भिरबाट खसाल्दै ‘जय हनुमान’ लगायतका शब्द उच्चारण गरेको सुनिन्छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
