धनगढी, १२ साउन / कैलालीको गोदावरी नगरपालिका– ५ गेटामा अवस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा आज (मंगलबार) पनि सरसफाई गरिएको छ । विश्वविद्यालयले सञ्चालन गरेको सरसफाई अभियान अन्तरगत मंगलबार पनि विश्वविद्यालय परिसरमा सरसफाई गरिएको हो ।
मंगलबार गोदावरी नगरपालिकासँगको समन्वयमा विभिन्न संघसंस्थाहरुले विश्वविद्यालय परिसर सरसफाई गरेका थिए । सरसफाई कार्यक्रममा नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले नगरपालिकाले दोस्रो पटक विश्वविद्यालय परिसरमा सरसफाई गरेको बताए । उनले नगरपालिकाको अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेर भएपनि दोस्रो पटक विश्वविद्यालय परिसर सफाई गर्न लागिएको बताए । उनले विश्वविद्यालय परिसरको सरसफाईका लागि सहयोग गर्ने अन्य विभिन्न पालिका तथा संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।
सरसफाई कार्यक्रममा बडेहा बिजौरा खानेपानी समिति, गोदावरी ज्येष्ठ नागरिक समाज, ज्ञान ज्योती सेकेन्डरी स्कुल, दुर्गालक्ष्मी नमुना मावि लगायतका संघसंस्थाहरु सहभागि थिए ।
सरसफाई अभियानमा अत्तरिया उद्योग वाणिज्य संघले पनि सहभागिता जनाएको छ । विश्वविद्यालयले आह्वान गरेपश्चात नगरपालिका सँगको समन्वयमा संघले सरसफाई अभियानमा सहभागिता जनाएको हो । संघका अध्यक्ष कमल कडायतले विश्वविद्यालयले सरसफाईका लागि आह्वान गरेपछि नगरपालिकासँगको समन्वयमा उद्योग वाणिज्य संघले सहभागिता जनाएको बताए ।
उनले नीजि क्षेत्रले पनि सामाजिक कार्यमा ऐक्यवद्धता जनाउनुपर्छ भन्ने उद्देश्य अनुरुप संघका पदाधिकारी तथा व्यवसायीहरु सरसफाई कार्यका लागि जोडिएको बताए । उनले सरसफाई कार्यका लागि सहभागि भएका अन्य विभिन्न संघसंस्था तथा स्थानियहरुलाई धन्यवाद ज्ञापन गरे । उनले करिब एक हप्ता देखी सरसफाई कार्यक्रम चलिरहेपनि प्राविधिक रुपमा भने केही कमीकमजोरी देखिएको बताए ।
उनले नीजि क्षेत्रबाट सरसफाईका लागि आउने संघसंस्था तथा स्कुलहरु पर्याप्त मात्रामा आउने गरेको भएपनि भनेजस्तो सरसफाई भने हुन नसकेको बताए । त्यसमा विश्वविद्यालयको केही प्राविधिक कमजोरी आफूले महसुस गरेको उनको भनाई छ । तथापी जनसमुदायबाट राम्रो प्रयास भएको उनले बताए ।
