धनगढी ११ साउन/कैलालीको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) सम्बन्धी लामो समयदेखि जारी विवाद समाधानका लागि सरकार र डा. गोविन्द केसी पक्षबीच सहमतिको मस्यौदा तयार भएको छ । अहिले फेरी बार्ता चलिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने तयारी भैरहेको स्रोतले जनाएको छ । मस्यौदालाई अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई पठाइएको बुझिएको छ ।
सरकारका तर्फबाट वार्ता टोलीमा रहेका प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल तथा डा. केसीका तर्फबाट डा. अमृत जैसी र डा. पवन थापाबिच आइतबार र सोमबार दुई दिन लगतार वार्ता चलिरहेको छ ।
सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेको कार्यकक्षमा वार्ता टोली र केसीका प्रतिनिधिबिच छलफल भएको थियो । वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य पुकार बम पनि सहभागी छन् ।
सहमतिको मस्यौदामा तीन प्रमुख विषय समेटिएका छन् । पहिलो, चालु आर्थिक वर्षभित्रै तिन सय शैयाको अस्पताल सञ्चालनमा ल्याउने, यसै शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रमको पठनपाठन सुरु गर्ने, विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने, उपकुलपति डा. सुनिलकुमार जोशीलाई यथावत राख्ने तथा विश्वविद्यालय ऐनमा रहेको स्वार्थ बाझिने प्रावधान हटाउने व्यवस्था गर्ने उल्लेख गर्ने मस्यौदा गरिएको डा. गोविन्द केसी पक्षबाट वार्तामा सहभागी डा. अमृत जैसीले जानकारी दिए ।
अहिले बहिर आएको जानकारी प्रारम्भिक मस्यौदा मात्र हो । प्रधानमन्त्री कार्यालयले अन्तिम रूप दिएपछि दुवै पक्षबीच औपचारिक हस्ताक्षर हुने बताईएको छ । तीन मुख्य बुँदा सहित अन्य आठबुँदामा समेत सहमति गर्ने तयारी भइरहेको बुझाएको छ ।
