बाजुरा ,५ साउन / बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा अन्य सात जना घाइतेको उपचार जारी रहेको छ । कोल्टी आधारभूत अस्पताल बाजुरामा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो करिब १ः२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडबाट अनियन्त्रित भई करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
थप घाइतेहरु मध्ये सात जनाको कोल्टी आधारभुत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीका कार्यालय बाजुराका प्रबक्ता नरेश शाहीले जानकारी दिए।
