बैतडी, २८ असार / बैतडीको पाटन नगरपालिका–३, दम्मोराका २ वर्षीय अभिषेक पन्त यतिबेला जीवन र मृत्युबीचको कठिन संघर्ष गरिरहेका छन्। काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत अभिषेकलाई चिकित्सकले मिर्गौलाको क्यान्सर भएको पुष्टि गरेको हो ।
सानै उमेरमा जटिल रोगसँग जुधिरहेका अभिषेकको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भए पनि परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ। उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगेपछि उपसाररत अभिषेकका पिता मदनराज पन्तले सबै सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेका छन् ।
अभिषेकको अवस्थालाई मध्यनजर गर्दै पाटन नगरपालिकाले पनि उपचार सहुलियत उपलब्ध गराइदिन कान्ति बाल अस्पताललाई औपचारिक सिफारिस गरेको छ। विपन्न नागरिक औषधि उपचार कार्यक्रम निर्देशिका–२०८० अनुसार नगरपालिकाको विपन्न उपचार सहुलियत सिफारिस समितिको निर्णयका आधारमा नगर प्रमुख गौरी सिंह रावलद्वारा हस्ताक्षरित सिफारिस पत्र अस्पतालमा पठाइएको हो। उक्त पत्रमा अभिषेकको परिवार आर्थिक रूपमा विपन्न रहेको उल्लेख गर्दै आवश्यक उपचार सहुलियत उपलब्ध गराइदिन अनुरोध गरिएको छ। सो सिफारिसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा समेत पठाइएको छ।
हाल अभिषेकको उपचारलाई निरन्तरता दिन आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ। परिवारले उपलब्ध गराइएको QR Code मार्फत आफ्नो इच्छाअनुसार आर्थिक सहयोग गरिदिन सबैमा हार्दिक अनुरोध गरेको छ।

” सानो सहयोगले निर्दोष बालकको जीवन बचाउन सक्छ। आजको सानो सहयोग अभिषेकका लागि नयाँ जीवनको आशा बन्न सक्छ। मानवता नै सबैभन्दा ठूलो धर्म हो।” भन्दै परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगका लागि भावुक अपिल गरेको हो ।
