धनगढी,२७ असार / कैलालीको धनगढीमा क्रियाशील सामाजिक संस्था श्रीकाफली मुडभरा सेवा समाजले शिक्षासेवी/समाजसेवी पूर्णानन्द जोशीलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ। संस्थाको संस्थागत विकास, सामाजिक सेवाको विस्तारका उद्देश्यहरू सफल बनाउन ठूलो योगदान पुर्याए बापत जोशीलाई उक्त सम्मान प्रदान गरीएको हो।
जोशीले संस्थाको वृद्धि विकास र सामाजिक कार्यका लागि रु. एक लाख पाँच रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। उहाँले देखाउनुभएको अतुलनीय सहयोग, समाजप्रतिको समर्पण, उदारता र सेवाभावको उच्च कदर गर्दै संस्थाको तर्फबाट हार्दिक कृतज्ञतासहित यो ‘सम्मान-पत्र’ प्रदान गरिएको संस्थाका कोषाध्यक्ष युवराज जोशीले बताए।
“सेवा, सद्भाव र समर्पण हाम्रो अभियान” भन्ने मूल नाराका साथ अघि बढेको यस संस्थाले जोशीको यो सहयोगले संस्थालाई अझ प्रभावकारी रूपमा सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यहरू सञ्चालन गर्न ठूलो प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
असार २७ गते धनगढीमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी,आजीवन सदस्य लगायत मुडभरि बासीले जोशीको यस कार्यको प्रशंसा गर्दैै, सु-स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना समेत व्यक्त गरेका छन्।